२०८१ बैशाख २१ , शुक्रवार

स्वास्थ्य शिविरबाट ८८ जना लाभान्वित

सुनाखरी न्युज/ काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको दाप्चामा आयोजना गरिएको बाथरोगसम्बन्धी स्वास्थ्य शिविरबाट ८८ जनाले लाभ लिएका छन् ।

 

नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखा तथा सहयोगी महिला जागरण मञ्चको सहकार्यमा नेशनल बाथरोग सेन्टरको प्राविधिक सहयोगमा दाप्चा माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण सेवा दिलाइएको थियो ।

शिविरमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधिसमेत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखाका सभापति नवीन अधिकारीले बताउनुभयो । उहाँका अनुसार परीक्षणपछि समस्या देखिएकालाई थप स्वास्थ्य परीक्षणसमेत निःशुल्क गरिएको थियो ।

 

नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउन नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो । गाउँघरमै बसेर स्वास्थ्य सेवा लिन पाउने व्यवस्था गर्न आयोजना गरेको शिविरबाट बाथरोगका बिरामी ८८ जनाले सेवा पाउनु खुसीको विषय भएको कार्यक्रम संयोजक बिलबहादुर श्रेष्ठले बताउनुभयो ।

नगरप्रमुख लामाले शिविर सञ्चालनका लागि सहकार्य गर्ने सहयोगी महिला जागरण मञ्च काठमाडौँका अध्यक्ष राधा श्रेष्ठ र नेशनल बाथरोग सेन्टरका तर्फबाट डा मनिषा भोछिभोयालाई कदरपत्र प्रदान गर्नुभएको थियो । रासस