२०८१ बैशाख २१ , शुक्रवार

आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त – उपप्रधानमन्त्री श्रेष्ठ

सुनाखरी न्युज/ काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“मुलुकमा समाजिक र आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त भएकाले सरकार अहिले मुलुकमा सुशासन कायम गर्न लागेको छ । ”

 

जिल्ला समन्वय समिति रामेछापले शनिबार आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासन कायम गर्नका लागि भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्नुभयो । उहाँले राजनीतिक परिवर्तन पछाडि मुलुकमा समाजिक र आर्थिक विकास हुँदै नभएको भने होइन, तर जनताको अपेक्षाकृत ढङ्गबाट हुनुपर्ने जति नभएको बताउनुभयो ।

 

अहिले संविधान कार्यान्वनको पक्षमा सरकार रहेकाले सामाजिक, आर्थिक परिवर्तन गर्नुपर्ने अवस्था रहेको पनि गृहमन्त्री श्रेष्ठ बताउनुभयो । उहाँले भन्नुभयो, “म जे बोल्छु त्यो गर्छु त्यसैले गर्न नसक्ने काम म बोल्दिनँ । अरुजस्तो गर्न नसक्ने काम बोलेर भाग्ने काम पनि गर्दिनँ ।”

कार्यक्रमका अवसरमा जिल्लामा भएका समस्यालाई समाधान गर्न र विकास निर्माणका काम गरिदिन विभिन्न राजनीतिक दलका प्रतिनिधि, पालिका प्रमुख एवं सङ्घीय तथा प्रदेश सांसदले गृहमन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए । रासस