२०८१ बैशाख २८ , शुक्रवार

व्यवसायिक लागत घटाउन सरकारले काम गर्छ : मुख्य सचिव डा. अर्याल

सुनाखरी न्युज/ काठमाडौं । नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले व्यवसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने वताउनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसंगको आज भएको भेटमा मुख्य सचिव डा. अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसंग समन्वय गर्ने पनि बताउनुभयो । महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नवनियुक्त मुख्य सचिव डा अर्याललाई वधाइ दिदैं विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने वताउनुभयो । यसैगरि अध्यक्ष ढकालले आर्थिक विधेयकमा गरिएको परिवर्तनले विभिन्न उद्यम व्यवसायमा नकारात्मक प्रभाव देखिएको बताउनुहुंदै यसको संसोधनका लागि पहल गर्न पनि मुख्य सचिव डा. अर्याल समक्ष आग्रह गर्नुभयो ।

महासंघले निजी क्षेत्रको मर्यादाक्रमको बिषय उठाइरहेको र विद्यमान अवस्थामा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन आवश्यक भएकोमा अध्यक्ष ढकालले जोड दिनुभयो । यस बिषयमा मुख्य सचिवले गृह मन्त्रालयसंग समन्वय गर्ने पनि बताउनुभयो । यसैगरि जिल्ला नगरमा आयोजना हुने मेला महोत्सव व्यवस्थित बनाउन जिल्ला नगर उद्योग वाणिज्य संघले आयोजना गर्ने गरि व्यवस्था गर्नुपर्ने सुझाव अध्यक्षले राख्नु भयो ।

भेटका अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारको निजी क्षेत्रबारे प्रष्ट नीति हुनुुपर्नेमा जोड दिनु भयो । महासंघका उपाध्यक्षहरु सुरकृष्ण वैद्य र हेमराज ढकालले बढदो ब्याजदरका कारण साना व्यवसायी प्रभावित रहेकाले व्यवसायिक लागत घटाउन सरकारले पहल गनुपर्ने बताउनुभयो ।