२०८१ बैशाख २४ , सोमवार

होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा

सुनाखरी न्युज/ काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा आएको छ ।

 

दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाका अनुसार होइमाङस्थित तामपुन तामाङको घरमा गत जेठ २६ गते देखापरेको झाडावान्ताले दुई बालिकाको निधन भएको छ भने छ जना बिरामीको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ । उहाँका अनुसार स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बिरामीको उपचार थालिएको थियो ।

 

नौ जनाको परिवारमध्ये आठ जना सिकिस्त बिरामी भएपछि बुधबार काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार थालिएको थियो । उपचारका क्रममा १० वर्षीया सुनिता तामाङ र पाँच वार्षीया आइसानी तामाङको बिहीबार निधन भएको थियो ।

उपचारका क्रममा दुई बालिकाको निधन भएपछि रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमा खटाइएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिवि शिक्षण अस्पतालमा उपचाररत परिवारका बाँकी छ सदस्य मृतक बालिकाको शव लिएर घर फर्किएका छन् ।

 

“रोग फैलन सक्ने जोखिम भएकाले स्वास्थ्यकर्मीको टोली गाउँमा खटाएका छौँ । बिरामीको परिवारलाई पनि स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ”, अध्यक्ष थापाले भन्नुभयो । उनीहरूलाई झाडावान्ता लाग्नुको कारण ‘फुडपोइजन’ देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

झाडावान्ता लागेपछि गाउँको स्वास्थ्य संस्थामा पुगेका उनीहरु थप उपचारका लागि अस्पताल नगएकाले रोगको सङ्क्रमण फैलिएको हुनसक्ने अध्यक्ष थापाको भनाइ थियो ।रासस