२०८१ बैशाख २१ , शुक्रवार

काभ्रेमा भेटिए मध्यकालीन पुरातात्विक वस्तु

सुनाखरी न्युज/ काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका पुरातात्विक वस्तु भेटिएका छन् । उक्त क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेका हुन् ।

 

पुरातात्विक वस्तु भेटिएपछि तत्कालै पुरातत्व विभागले डोजर लगाउने कार्य रोक्न लगाएको छ । विभागले यसबारे अध्ययनसमेत थालेको छ । विभागले गत जेठ २८ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई बनेपा नगरपालिका–१४ भैँसीपाटीमा डोजर लगाउने कार्य रोक्न पत्राचार गरेको हो । सडक मापदण्डमै प्राचीन सम्पदा फेला परेपछि संरक्षणकर्मीले त्यसमा चासो देखाएका थिए । विभागको भक्तपुरका प्रमुख यमुना महर्जन नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेपछि ती संरचना मध्यकालीन समयको रहेको पुष्टि भएको हो ।

महर्जनले उक्त क्षेत्र पुरानो ‘पदमार्ग’ भएकाले नेवारी भाषामा सो स्थानको नाउँ नै ‘फल्चाहिटी’ रहेको बताउनुभयो । पदमार्गमा पानीको स्रोत भएको ठाउँमा पाटी हुने भएकाले सो स्थानमा पुरानो पाटी, ढुङ्गेधारा र कँुवासमेत भेटिएका छन् । यी सम्पदालाई जोगाउन हाल उक्त क्षेत्रमा सडक विस्तारको काम रोकिएको छ । यस्तै विभागले राजमार्गअन्तर्गत पर्ने बनेपा नगरपालिकालाई समेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचारसमेत गरेको छ ।

 

सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाका प्रमुख राजेन्द्रमान दासले उक्त स्थानमा सडक निर्माणार्थ कसरी डिजाइन गर्ने भन्नेबारे सर्वपक्षीय सहमति बनाइने बताउनुभयो । पुरातात्विक सम्पदा भेटिएको ठाउँमा डोजर नचलाउन पाँचखालका अभियानकर्मी श्रीकृष्ण धिमालले विभागमा निवेदन दिनुभएको थियो ।

गत फागुनदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार सुरु गरिएको थियो । उक्त सडकखण्ड तीन बर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल कुल १५ दशमलव पाँच किलोमिटर सडकखण्ड चार लेनमा विस्तार थालिएको हो ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तारकार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमि रहेको छ । उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको हो ।रासस