२०८१ जेठ ५ , शनिवार

पर्यटकीय क्षेत्र घार्मी छायांकन स्थल बन्दै

शिशिर उजाड/ पोखरा । पोखराको पर्यटकीय स्थल घार्मी विभिन्न सिनेमा तथा टेलिसिरियलका लागि महत्वपूर्ण छायांकन स्थल बन्न थालेको छ।

ग्रामीण भेगमा रहेको तथा पोखराको सुन्दरता र अन्नपूर्ण हिमश्रृङ्खलाको मनमोहक दृश्य देख्न सकिने घार्मीमा विभिन्न नेपाली सिनेमा, टेलिश्रृंखला तथा वेभ सिरिजहरू छायांकन हुने गरेका छन्। पोखराबाट नजिकै र सडक यातायातको सुविधाका कारण अधिकांश कलाकर्मीको रोजाइमा पर्ने गरेको बताइएको छ।घार्मी वरपरका रमणीय दृश्य समेटिएको सिरियल कर्मले मामाको चौतारीको ट्रेलर सार्वजनिक भएको छ।

 

श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको उक्त सिरियलमा त्यस क्षेत्रका रमणीय दृश्य समेटिएको निर्माण पक्षले जनाएको छ। वासुदेव पोख्रेलको लेखन तथा निर्देशन रहेको सिरियलमा सुशील पोखरेल, प्रज्ञा जोशी, वासुदेव पोख्रेल, तुलसा क्षेत्री, कपिल शर्मा, राज थापा,ममता अधिकारी,सरू शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। ट्रेलरमा पनि मुख्य कलाकारलाई देख्न सकिन्छ।

सिरियलको निर्माण घनश्याम लामिछाने र मणिरत्न शर्माले गरेका हुन् । ट्रेलरमा दुई गाउँ विचको प्रेम युद्धलाई प्रस्तुत गरिएको छ। सो सिरियल मार्फत निर्देशक वासुदेवले ८ वर्ष पछि कमब्याक गरेका हुन्।