२०८१ जेठ ५ , शनिवार

आदिपुरुषको प्रमोसनमा हुने छैनन् सैफ अली खान ?

सुनाखरी न्युज  / काठमाडौं –  निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’मा रावणको भूमिका निभाउने अभिनेता सैफ अली खान मेबाट सुरु हुने फिल्मको प्रचारमा नहिँड्ने भएका छन्। रिलिज मिति नजिकिएसँगै फिल्मका कलाकारहरु प्रमोसनमा व्यस्त छन्। अर्कोतिर फिल्मको प्रि- बुकिङ पनि आक्रामक देखिन्छ।

 

प्रभास, कृति सेनन र सैफ अली खानको फिल्ममा मुख्य भूमिका छ। फिल्म युनिटले प्रभासलाई नै लक्षित गर्दै प्रमोसनको कार्यक्रम बनाएको छ। प्रमोसनका लागि मे महिनामा आफू तयार रहने प्रभासको योजना अनुरुप प्रमोसन तालिका पनि बनाइएको छ।केही दिनअघि तिरुपतिमा फिल्मको दोस्रो ट्रेलर रिलिज कार्यक्रम राखिएको थियो। त्यहाँ निर्देशक ओम राउतसँगै कलाकारहरु प्रभास, कृति उपस्थित थिए। तर, सैफ देखिएनन्। ट्रेलर रिलिज कार्यक्रममा मात्रै होइन सैफ फिल्मका पछिल्ला सबै प्रमोसनल कार्यक्रमबाट गायब छन्।सैफले आफ्नो विवादास्पद फिल्मी चरित्रबारे उठ्ने प्रश्नबाट बच्नका लागि रणनीति बनाएको उनी निकटले दाबी गरेका छन्।

 

यो फिल्म गत जनवरीमा रिलिज हुने तयारमिा थियो। तर फिल्मको टिजर रिलिज हुनासाथ यसको आलोचना सुरु भयो । त्यसपछि निर्माताले यसको रिलिज मिति सारेका थिए। कतिपयले फिल्मको भीएफएक्स पुनः गर्नुपर्ने भएकाले पनि रिलिज सारिएको बताएका थिए।आदिपुरुषको टिजर सार्वजनिक हुँदा पनि हनुमान र रावणको लुक्सलाई लिएर दर्शकहरु आक्रोशित बनेका थिए। रावणको अनुहार मुस्लिम धर्मका पात्रजस्तो देखिएको आरोप कट्टरपन्थी हिन्दु समूहले लगाएका थिए।

 

सैफ ट्रोलको सिकार समेत हुनपुगे। साथै फिल्ममा प्रयोग गरिएको ‘भिएफएक्स’ को कार्टुनसम्मको तुलना गरिएको थियो।सैफ मेमा पत्नी करिना र दुई छोरा तैमूर तथा जेहका साथ बिदा मनाउन जाँदैछन्। यहीकारण फिल्मको प्रमोसनमा उनी हिस्सा हुने छैनन्।यो फिल्म अब जुनमा रिलिज हुँदैछ। फिल्ममा प्रभासका अलावा कृति सेनन, सनी सिंहीको पनि अभिनय छ । यो फिल्म बलिउडको ठूलो बजेटको फिल्ममध्ये एक हो। सैफ मेमा पत्नी करिना र दुई छोरा तैमूर तथा जेहका साथ बिदा मनाउन जाँदैछन्।