२०८२ चैत्र ३ , मंगलबार

सिंहदरबारमा केन्द्रको छड्के, हाजिर गरेर दिनभरि हराउने कर्मचारी कारबाहीमा

सुनाखरी न्युज  /   काठमाडौं   –  राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार भित्रका कर्मचारीहरुको छड्के अनुगमन गरेको छ । कर्मचारी हाजिर गरेर हिंड्ने गरेपछि कार्यसञ्चालनमा कठिनाइ आएको भन्दै सतर्कता केन्द्रमा उजुरी परेको थियो। नियमित अनुगमन अन्तर्गत बिहीबार पनि छड्के अनुगमन गरिएको उपसचिव हरिप्रसाद शर्माले बताए।

 

शर्माले भने, ‘अनुगमनमा खटिएका साथीहरुले कस्तो रिपोर्ट ल्याउनुहुन्छ हेरौं न ।’ उनले कर्मचारीहरुमाथि बेला–बेला अनुगमन गर्ने गरेको भन्दै आजको पनि नियमित प्रक्रिया अनुसारकै भएको बताए ।यसरी हाजिर गरेर हिंड्ने कर्मचारीलाई कारबाही नियमितजसो गर्छौं, कति कर्मचारी हाजिर गरेर हिंड्छन भन्ने एकीकृत रिपोर्ट पनि निकाल्छौं ।

 

सतर्कता केन्द्रले सिंहदरबारबाट बाहिरिने कर्मचारीहरुको परिचय पत्र हेर्दै उनीहरुको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेतको विवरण टिपोट गरेको छ ।सिंहदरबारबाट बाहिरिने कर्मचारीहरुले व्यक्तिगत काम, छलफल, तेल हाल्न, अस्पताल जान, चिठ्ठी पुर्याउन, खाना खान, संसद भवन जान लगायतका विवरण टिपाएका छन् ।