२०८१ बैशाख ३१ , सोमवार

एनआईसी एशिया क्यापिटल र अगम फूड इन्डस्ट्रीबीच ‘आइडिया टु आईपीओ’ सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ।

 

एनआईसी एशिया क्यापिटल र अगम फुड इन्डस्ट्री प्रालिबीच मंगलबार (जेठ ३० गते) ‘आइडिया टु आईपीओ’ सेवाका सम्बन्धमा दुई पक्षीय सम्झौता भएको छ। सम्झौताअन्तर्गत काठमाण्डौको लाजिम्पाटमा कार्पोरेट कार्यालय रहेको अगम फुड इन्डस्ट्रीलाई एनआईसी एसिया क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गतको संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवा, प्राइभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फन्डको व्यवस्था गरिदिनेछ।

 

यसैगरी अगम फुड इन्डस्ट्रीलाई पब्लिक कम्पनीमा परिणत गराई आगामी दिनमा आईपीओ जारी गर्ने चरणमा पुर्याई भविष्यमा सर्वसाधारणहरुमा साधारण सेयरको सार्वजनिक निष्कासन गरिदिनेसम्मको सेवा प्रदान गरिने क्यापिटलले जनाएको छ। अगम फुड इन्डस्ट्री नेपालको सबैभन्दा ठूलो स्टिम राइस मिल उद्योगमध्ये एक हो। उक्त राइस मिल उद्योग सन् २००५ देखि चितवनको भरतपुर–१३ मा उद्योग स्थापना गरी नियमित रुपमा आफ्नो उत्पादन देशको विभिन्न भू–भागमा बिक्रीवितरण गर्दै आइरहेको छ।

 

स्वदेशी किसानबाट धान खरिद गरी चामल उत्पादन गरी चामलको आयात घटाई राष्टिय अर्थतन्त्रलाई बढोत्तरी दिने मुख्य उद्देश्यका साथ सञ्चालित अगम फुड इन्डस्ट्रीले आगामी दिनमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत आफ्नो उत्पादनलाई नेपालभर विस्तार गरी उपभोक्तालाई सहज, सर्वसुलभ, गुणस्तरीयका साथै सुपथ मूल्यमा चामललगायत अन्य उत्पादनहरु उपलब्ध गराउने लक्ष्य लिएको छ।