२०८१ जेठ ५ , शनिवार

अर्कैको नाममा परीक्षा दिने दुई जना कर्मचारी समातिए

सुनाखरी न्युज  / काठमाडौं –  लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने र परीक्षा दिलाउने २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुका सह लेखापाल –३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र सोही ठाउँका जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन्।

 

लोकसेवा आयोग, बुटवलको मधेस एकीकृत तथा संयुक्त, खरिदार वा सोसरहको बुटवल केन्द्रमा सञ्चालन भएको २०७७ फागुन २९ मा पहिलो र २०७८ साउन १६ मा दोस्रो र तेस्रो पत्रको परीक्षामा मनोजको नामबाट नारायणले परीक्षा दिएका थिए । उक्त घटनाको अनुसन्धानपछि प्रहरीले मनोज र नारायणलाई मंगलबार पक्राउ गरेको हो ।

 

लोकसेवा आयोगले बुटवल केन्द्रमा खरिदार मधेसी पदका लागि २०७७ साल फागुन २९ गते प्रथम र २०७८ साउन ४ गते लिएको परीक्षामा मनोजकुमार शर्मा सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखित सम्बन्धी कसूर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। अर्काको नामबाट परीक्षा दिएर र दिन लगाएर बेइमानी गरेकाले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।