२०८१ जेठ ६ , आइतवार

राजस्व अनुसन्धानको नियन्त्रणमा ६४९ बोरा अवैध रासायनिक मल

सुनाखरी न्युज/ पाल्पा ।
राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले  पाल्पाको रामपुर नगरपालिका–५, बेझाडमा शनिबार फेला परेको ६ सय ४९ बोरा अवैध रासायनिक मल नियन्त्रणमा लिएको छ ।

 

प्रहरीले नियन्त्रणमा लिएको रासायनिक मलको बिल, कागजपत्र र भण्डारण गरेका व्यक्तिसमेत फेला नपरेपछि कार्यालयले अनुसन्धानका लागि युरिया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

 

राजस्व अनुसन्धान कार्यालयका अधिकृतसहित करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र प्रहरीका प्रतिनिधिसहितको टोलीले सिल खोलेर नियन्त्रणमा लिएको हो । रामपुर नगरपालिकाका जनप्रतिनिधि, रामपुर उद्योग वाणिज्य संघलगायतको रोहबरमा भण्डारण गरेर राखिएको मल नियन्त्रणमा लिई सिल खोलेर अवैध रासायनिक मल बुटवलमा पठाइएको छ । प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत नामक युरिया मल रहेको प्रहरीले जनाएको छ ।

 

कालीगण्डकी करिडोरअन्तर्गत हुँगीमा नवलपरासी पश्चिमको रामग्रामबाट पाल्पाको रामपुर ल्याउँदै गर्दा प्रहरीले ३ सय ७२ बोरा अवैध रासायनिक मल ट्रकसहित नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको थियो । त्यसैको आधारमा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा रहेको उपभोक्ताहित संरक्षण समिति र प्रहरीले अनुगमन गर्ने क्रममा रामपुर नगरपालिका ५, बेझाँडका विजय मानन्धरको घरमा सटर भाडामा लिएर मल भण्डारण गरी राखेको भेटिएको थियो ।