२०८१ जेठ ५ , शनिवार

‘नेसनल सोसल वेलफेयर अवार्ड’ सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ सिजन मिडियाको आयोजनामा हुने ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२२’ को अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा १४ समाजसेवीलाई अवार्ड वितरण गर्नुभएको थियो ।

 

देश तथा विदेशमा रही सामाजिक कार्यमा जुटेर मानवसेवामा सक्रिय सातै प्रदेशका प्रतिनिधि समाजसेवीलाई यस वर्ष पनि सिजन मिडियाले अवार्डमार्फत उक्त अवसरमा यसपटक वादी उत्थान मञ्च कर्णाली सुर्खेतका संस्थापक हिक्मत वादी, कोशी प्रदेशबाट घुन्सा फाउन्डेसनकी संस्थापक योन्जोम शेर्पा, लुम्बिनी प्रदेशमा रहेर रक्तदानमा सक्रिय रहनुभएका रक्तदाता कृृष्ण चौहान क्षेत्री, लिभिङ ड्रग्स एन्ड अल्कोहल रिह्याब सेन्टरका संस्थापक प्रशान्त शर्मा, मधेस प्रदेशका सामाजिक अभियानकर्मी प्रकाश थारूलाई अवार्ड प्रदान गरेको हो ।

त्यसैगरी चितवनको सहारा घरकी सञ्चालक स्वस्तिका तिवारी, महेन्द्रनगरका समाजसेवी दिनेश मल्ल, बनेपाकी समाजसेवी जेसी मिलन गुरुङ, हेटौँडाका व्यवसायी तथा समाजसेवी लायन अमितकुमार शर्मा, ललितपुरका नेपाल स्नेही काखकी नेहा पोखरेल, गुल्मीकी पत्रकार तथा समाजसेवी कविता शर्मा, अन्नपूर्ण आत्मनिर्भर बालाश्रम पोखराकी सञ्चालक शारदा बस्नेतलाई पनि अवार्ड दिइएको थियो ।

यस्तै गोरखाली व्यावसायी तथा समाजसेवी दुर्गा श्रेष्ठ र कास्कीकी बाल सामाजिक अभियानकर्मी प्रिन्सा रेग्मीसहितलाई तेस्रो संस्करणको ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२२’ प्रदान गरिएको थियो । सामाजिक अभियानकर्मीको सम्मानले समाजप्रति माया र विश्वास रही रहोस् तथा दीनदुःखी गरिबको सेवामा खटिरहन हौसला होस् भन्ने हेतुले उक्त कार्यक्रम गरिएको संस्थाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

कार्यक्रममा वादी उत्थान मञ्च कर्णाली सुर्खेतका संस्थापक हिक्मत वादीलाई वादी बालबालिकाको अध्ययनलाई सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रममा उपस्थित दर्शक तथा आयोजका तर्फवाट रु ५० हजार पनि सहयोग गरिएको थियो । साथै व्यवसायी तथा समाजसेवी राज्यलक्ष्मी श्रेष्ठले रु ५० हजार बराबरको खाद्य सामग्री उपलब्ध गराउने वचन दिनुभएको छ भने मिसेस ब्युटी क्विन नेपाल २०२१ की विजेता लसता शाक्यकी आमा सुलोचना शाक्यले रु एक लाख एक हजार रकम दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।रासस