२०८१ बैशाख १५ , शनिवार

७ अंकले बढ्यो नेप्से, २ अर्ब ८९ करोडको कारोबार

सुनारखी न्युज/ काठमाडौं ।
सेयर बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन सोमबार ७.७९ अंकले वृद्धि भएको छ । गत साताको मंगलबारदेखि पछिल्लो पाँच कारोबार दिनमा लगातार वृद्धि हुँदा नेप्से ८५.८८ अंकको वृद्धि भएको छ ।

अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित होटल तथा पर्यटन, उत्पादनमूलक लगायतका उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो ।

सोमबार समेत लगातार चौथो कारोबार दिन पनि नेप्सेमा वृद्धि भएको हो । लगातार बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा नेप्सेमा तिव्र उतारचढाव देखिए पनि अन्तिममा बढेर बन्द भएको हो । नेप्सेको उतारचढवले कारोबार रकम करिब ३ अर्ब नजिक पुगेको छ ।

आइतबार ३ अर्ब ४५ करोडको कारोबार रकम भएको बजारमा सोमबार केही संकुचित भएको भएपनि करिब ३ अर्बको कारोबार भएको हो । सोमबार नेप्सेमा ४९ हजार ९४४ वटा कारोबारमा कुल ७४ लाख ५४ हजार ७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ८८ करोड ६५ लाखको कारोबार भएको छ ।