२०८१ बैशाख २३ , आइतवार

सुरज विश्वकर्माको “आशाहरु आकाशमा” सार्वजनिक

सुनाखरी न्युज/  पोखरा । वैदेशिक रोजगारीमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर लागिरहेका सुरज विश्वकर्माले हालै “आशाहरु आकाशमा” गीत आफ्नै युटुब च्यानल सुरज विश्वकर्मा मार्फत सार्वजनिक गरेका छन् ।

उक्त गीत २०७९ साल माघ १ गते पोखरा वजारको मध्यभाग सेती नदीको खोंचमा भएकाको सुन्दै आँङ सिरिङ् हुने यति एयरको जहाज दुरघटनामा परि ज्यान गुमाउने ७२ जनाहरुप्रति समर्पित गरेका छन् । “बिस्तारै बिस्तारै”, “तिम्रो मन”, “तिमिलाई नै हेरि रहुँ” र “दुइ तले फलामको खाटैमा” जस्ता मार्मिक गितका सर्जक सुरज विश्वकर्माले रचना गरेको उक्त गीतको निर्देशन र संगीत पनि आफ्नै रहेको छ ।

उदयीमान गायिका बबि दियालीको आवाज रहेको उक्त गीतको संगीत संयोजन विनोद रसाईलीले गरेका छन् । पोखरामा नै छायाङ्कन गरिएको भिडियोमा केहि दृश्यहरु जहाज दुर्घटना भएको ठाउँ मै छायाङ्कन गरिएको निर्देशक विश्वकर्माले वताए ।

वैदेशिक रोजगारीको शिलशिलामा मकाउमा रहेका उनले जहाज दुर्घटनाको समयमा आफु विदेशमै भएको र यो दुखद् खबरले आफु स्तब्ध हुदै भावुक भएर “आशाहरु आकाशमा” गीतको रचना गर्न पुगेको वताउँछन।