२०८२ फाल्गुन ३० , शनिवार

सदन दलको आमसभा होइन…

सुनाखरी न्युज/ काठमाडौं । संसद् सचिवालयका पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईले प्रधानमन्त्रीको वक्तव्यप्रति सुरुदेखि अन्त्यसम्म असहमति भए पनि समय लिएर बोल्न सुरु गरेपछि पूरा नभएसम्म उहाँलाई अपमान र मर्यादा नै नरहने गरी हस्तक्षेप गर्न नमिल्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, “संसदीय अभ्यासलाई मर्यादित तुल्याउन सञ्चालन गर्न नियमावली बनाइएको छ, त्यसैले सबै प्रक्रियालाई निर्धारण गर्छ । त्यसको उल्लङ्घन गर्दै उत्तेजना र आवेगलाई प्रश्रय दियौँ भने सञ्चालन गर्नेलाई पनि चुनौती खडा हुन्छ भने संसद्को मर्यादामा पनि क्षयीकरण हुन जान्छ ।”

सदनको गरिमा र प्रभावकारिता बढाउने कर्तव्य सरकार, सम्पूर्ण रानीतिक दल र सदस्यहरूको भएको उल्लेख गर्दै पूर्वमहासचिव भट्टराईले नियमापत्तिको आडमा राजनीतिक अभिष्ट पूरा गर्न अनावश्यक विषय प्रवेश गराएर सदनलाई अवरोध गर्ने अभ्यास नगर्न सुझाव दिनुभयो ।

नियम र प्रक्रिया तोडमोड गरिए सदन चल्न नसक्ने भएकाले त्यसमा हेक्का राख्न सबै सांसदलाई सुझाव दिँदै उहाँले सदन भनेको कुनै राजनीतिक दलको आमसभा नभई विधि, प्रक्रिया, अनुशासन, आचार संहिता र मर्यादा कामय गर्दै अघि बढ्नुपर्ने थलो भएकाले त्यसको गरिमा जोगाउने सिलसिलामा सबैको सहकार्य र भूमिकाको खाँचो औँल्याउनुभयो । रासस