२०८१ जेठ ४ , शुक्रवार

गर्मी बढेर दिक्क हुनुभएको छ ? यसो गर्नुहोस्…

सुनाखरी न्युज/ काठमाडौं ।

देशभर गर्मी बढ्दो क्रममा छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गर्मी तत्काल रोकिने संकेत नरहेको जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ ।

 

महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेशका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना छ । त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन जरुरी छ ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना छैन र तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान छ ।

 

विभाग मातहतको महाशाखाले विशेष बुलेटिन जारी गर्दै बढ्दो गर्मीका कारण मानव स्वास्थ्यमा पर्नसक्ने असर र त्यसबाट जोगिने उपायहरु समेत सुझाएको छ ।

बुलेटिनमा लेखिए अनुसार तातो हावा तथा लुबाट थकाइ लाग्ने, तीर्खा बढी लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस् हुने, पांसपेशीहरु दुख्ने, बान्ता हुने आदि लक्षण देखिन्छन् । यस्ता लक्षण देखिए स्वास्थ्य संस्था जान वा स्वास्थ्यकर्मीको परामर्श लिन महाशाखाले सुझाएको छ ।

गर्मीको बेला घर बाहिर ननिस्कन, बाहिर निस्किनै परे टाउको छोप्न, पटक–पटक पानी वा झोल पदार्थ प्रशस्त पिउन र हल्का खालका सुतीका कपडा लगाउन पनि सुझाव दिइएको छ ।