२०८० चैत्र १५ , बिहिवार

बजेट भाषण र रातो किताबमा फरक व्यवस्था : अध्यक्ष ढकाल

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट भाषण र रातो किताबमा फरक व्यवस्था गरेर दोहोरो भूमिका खेलिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

 

बजेट भाषण सुन्दा राम्रो तर रातो किताब नियाल्दा फरक हुने गरेकोप्रति गुनासो गर्नुभएको हो । राजधानीमा भएको एक कार्यक्रममा उहाँले बजेटमार्फत हरेक वर्ष करका दर परिवर्तन गर्दा आन्तरिक र वैदेशिक लगानी वृद्धि हुन नसक्ने बताउनुभयो । अध्यक्ष ढकालले आर्थिक विधेयकमार्फत सरकारले चालु आर्थिक वर्षमा कायम गरेका करका दरलाई समेत परिवर्तन गरेको टिप्पणी गर्दै निजी क्षेत्रको मनोबल कमजोर बन्न पुगेको बताउनुभयो ।

 

सरकारले बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदा नियामक निकायले प्रोत्साहन गर्न दिएको छुट कटौती भएकोप्रति दुखेसो व्यक्त गर्नुभयो । अध्यक्ष ढकालले चालु आर्थिक वर्षको आर्थिक ऐनले व्यवस्था गरेका कतिपय व्यवस्था बजेटले खारेज गरेको विषलाई निजी क्षेत्रले स्वीकार गर्न नसक्ने चेतावनी दिनुभयो ।