२०८१ जेठ ७ , सोमवार

नेत्र गुरुङ निर्देशित चलचित्र “कडी” को पोखरामा शुभ मुहूर्त

सुनाखरी न्युज/  पोखरा । दश वर्ष अघि नेपाली चलचित्र “नाईके” निर्देशन गरेका पोखराका नेत्र गुरुङद्वारा निर्देशित चलचित्र “कडी”को शुभमुहूर्त गरिएको छ । नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मस्को सहकार्यमा बन्न लागेको “कडी” को संस्कृतिकर्मी तीर्थ श्रेष्ठले सोमबार पोखराको विन्ध्यावासिनी मन्दिरमा शुभमुहूर्त गरेका हुन् ।

 

माइती घर चलचित्रको कालाकोटैले भन्ने गीतको छायाँकन समेत विन्ध्यावासिनी मन्दिरमा गरिएको जानकारी गराउँदै आज कडीको शुभमुहूर्त गर्न पाउँदा खुशी लागेको उनले बताए । पोखरा प्राकृतिक स्टुडियो भएकाले थुप्रै चलचित्रहरु सुटिङ हुने गरेको उल्लेख गर्दै श्रेष्ठले भारतीय नायक देवानन्दले समेत पोखरामा धेरै चलचित्रहरु सुटिङ गरेको जानकारी गराए । हरेराम हरेकृष्ण जस्ता चलचित्रहरु पोखरामा नै छायाँकन गरिएको भनाई उनको छ । श्रेष्ठले नेपाली चलचित्रले अझै पनि नेपाली चलचित्र भनेको यस्तो हुन्छ भनेर विश्वमाझ पुर्याइ आफुलाई स्थापित गर्न नसकेको प्रति दुख व्यक्त गरे । यस्तोमा नेपाली समाजका थुप्रै कडीलाई मोडेर आफुलाई अगाडि बढाउन र नेपाली चलचित्रको उन्नयनमा “कडी” महत्वपूर्ण साबित हुनेमा आफु विश्वस्त रहेको भनाई उनको छ ।

 

कार्यक्रममा कलाकार माओत्से गुरुङले नेत्र गुरुङ म्युजिक भिडियो र सर्ट फिल्ममा चिरपरिचित नाम भएको उल्लेख गरे । उनले पोखराबाट बन्ने चलचित्रको शुभमुहूर्तमा सहभागी हुन पाउँदा खुशी लागेको बताए । कडीले उठाउन खोजेको विषयले दर्शकको मन जित्नेमा उनी आशावादी छन् । चलचित्र निर्देशक घनश्याम लामिछानेले “कडी” नेपाली चलचित्र क्षेत्रका लागि नौलो बन्नेमा आफु विश्वस्त रहेको बताए । दश वर्ष अगाडि बनाएको नाइके पछिको ग्यापलाई चिर्ने गरी कडी अगाडि बढोस् भन्दै उनले शुभकामना दिए । नेत्र गुरुङले कडी आफ्ना लागि ड्रिम प्रोजेक्ट भएको उल्लेख गरे । म्युजिक भिडियोका लागि तयार पारिएको कथा चलचित्र बन्ला भनेर आफुले कल्पना समेत नगरेको भनाई उनको छ । नाइके पछि आफु म्युजिक भिडियो र सर्ट फिल्महरुमा व्यस्त रहेता पनि चलचित्र बनाउने योजना भने बनाइरहेको उनले बताए । कडी समाजको कथा भएको भनाई उनको छ । हर मान्छेले आफ्नोे कथाको अनुभुति गर्न पाउने गरी चलचित्र निर्माण गर्ने तयारीमा उनी छन् । पोखरा आसपास छायाँकन हुने चलचित्र सस्पेन्स थ्रिलर जनरामा बन्नेछ । शुभमुहूर्त पछि पाँच दिनको वर्कसप पश्चात “कडी” छायाँकनमा जानेछ । कडी मार्फत दर्शकलाई आफुले नौलो स्वाद पस्कन चाहेको अभिव्यक्ति गुरुङको छ ।

 

कडीमार्फत गुरुङले टिकटकबाट चर्चामा आएका बद्री प्रसाद तिवारीलाई मुख्यपात्रका रुपमा प्रस्तुत गर्दैछन् । नायकको भूमिकामा तिवारी रहनेछन् । यस्तै थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी सोफी धरेल नायिकाको भूमिकामा रहनेछिन् । तिवारी र धरेलको यो पहिलो चलचित्र हो । मल्टी क्यारेक्टरवाला स्टोरीमा बन्ने चलचित्रमा प्रकाश घिमिरे, कमल भण्डारी, सुगत करणजीत, विकास खनाल, संगम कायस्थ, राजेन्द्र अधिकारी, राम बास्तोला, सरिता दानकुटी, प्रमिला तुलाचन, अर्जुन खड्का लगायतका कलाकारहरुको अभिनय रहनेछ । टिकटकमा मार्फत चर्चामा आएका सहित धेरै नयाँ कलाकाहरुलाई स्थान दिइएको निर्देशक गुरुङले बताए । चलचित्रलाई छायाँकन दिपेश केसीले गर्नेछन् भने पब्लिसिटी डिजाइनरमा सविन गायक रहेका छन् । सो अवसरमा सविन गायकले नै डिजाइन गरेको फस्ट लुक पनि सार्वजनिक गरिएको छ । सपना तिवारीको ड्रेस डिजाइनमा चलचित्र निर्माण हुनेछ ।