२०८० चैत्र १६ , शुक्रवार

कृषि विज्ञ राईविरुद्ध  मुद्दा दायर

सुनाखरी न्युज/ काठमाडौँ । कृषि विज्ञका रूपमा चिनिएका खोटाङका मदन राईविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

 

काठमाडौं प्रहरीले उनलाई २९ वैशाखमा पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय खोटाङको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध आइतबार अभियोग दायर गरेको थियो। राईलाई आज बयानका लागि अदालत लगिँदै छ। आजै उनको बयान गराएर थुनछेक बहस हुनेछ। काठमाडौंमा पक्राउ परे पनि राई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा छन्। थुनछेक बहसपछि उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि थुनाबाहिर राखेर भन्ने आदेश हुनेछ। आफ्नै पहलमा खोलेको शुभम् फाउन्डेसनको सञ्चालनमा चलिरहेको विद्यालयका विद्यार्थीलाई राईले बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग) (ङ) अन्तर्गतको कसुर गरेको आरोप छ।

 

बाल यौन दुर्व्यवहारको कसुरमा दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न अभियोगपत्रमा माग गरिएको छ। यी कसुरमा ७५ हजार रुपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। फाउन्डेसनमा अध्ययन गरेकी बालिकाले नै उनीमाथि यौन दुर्व्यवहारको आरोपमा जाहेरी दिएकी थिइन्। उनकै जाहेरीको आधारमा राई पक्राउ परेका हुन्।