२०८१ बैशाख १३ , बिहिवार

प्रभासको ‘आदिपुरुष’ले रिलिजअघि नै कमायो ४३२ करोड

सुनाखरी न्युज / काठमाडौँ – प्रभास, कृति सेनन र सैफ अली खानको प्रतीक्षित फिल्म ‘आदिपुरुष’ रिलिजको अन्तिम तयारीमा छ । फिल्मको टिजर र गीतले फिल्मप्रति दर्शकलाई कौतुहलता बढाइरहेको छ । फिल्मका निर्माताले रिलिज अघि नै कुल बजेटमध्ये ८५ प्रतिशत रकम उठाइ सकेका छन् । अर्थात फिल्मले रिलिज अघि नै ४ सय ३२ करोड सुरक्षित गरिसकेको छ । करिब ५ सय करोड बजेटमा बनेको फिल्ममा ओम राउतको निर्देशन छ ।फिल्ममा प्रयोग भएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसनदेखि भिडिओ गेमसम्म भने।

 

भिएफएक्सको गुणस्तर राम्रो नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै नक्कली लागेको टिप्पणी भएको थियो। सस्तो भिएफएक्समा फिल्म बनाएको भन्दै आदिपुरुषका निर्माण टोलीको आलोचना समेत भएको थियो।त्यस्तै रावण बनेका सैफ अली खानको हुलियालाई लिएर पनि धेरै नकारात्मक टिप्पणी आएका थिए।नकारात्मक टिप्पणीपछि निर्माण टिमले पुनः भिएफएक्स गरेर ट्रेलर सार्वजनिक गरिसकेका छन्। भारतीय सञ्चारमाध्य दैनिक भास्करका अनुसार फिल्म ५ सय करोड भारूमा बनेको हो। योसँगै आदिपुरुष भारतकै महंगो फिल्म सावित भएको छ।

 

महंगो बजेटमा बनेको फिल्मले आफ्नो ८५ प्रतिशत लगानी पनि उठाइसकेको छ। डिजिटल राइट्स, म्युजिक राइट्स, र थिएट्रिकल राइट्स बेचेर फिल्मले ४३२ करोड भारू कमाइ गरिसकेको भारतीय सञ्चारमाध्यम बलिउड हंगामामा उल्लेख छ। योसँगै ६८ करोड भारू मात्र कमाए पनि फिल्मले लगानी उठाउने छ। ओम राउत निर्देशित आदिपुरुषमा सैफअलि खान र सन्नी सिंहको पनि मुख्य भूमिका छ । मूलतः तेलुगू भाषामा बनेको फिल्मलाई हिन्दी, तमिल, कन्नड, मलयालम भाषामा पनि रिलिज हुनेछ ।