२०८१ जेठ ३ , बिहिवार

घोराही सिमेन्टद्वारा सर्वसाधारणका लागि सेयर बिक्री खोल्ने तयारी

सुनाखरी न्युज/ काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रिजले सर्वसाधारणका लागि सेयर बिक्री खुल्ला गर्ने तयारी गरेको छ। कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणको लागि जारी गर्ने विज्ञप्तिमार्फत जनाएको छ।

 

घोराही सिमेन्टले वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सेयर बिक्री खुल्ला गरेको थियो। कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको सेयर जारी गर्ने जनाएको छ। जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितका लागि आरक्षित रहेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर छुट्याइएको थियो।

 

त्रिवेणी समूहबाट प्रवर्द्धित घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र गुणस्तरीय सिमेन्ट उत्पादकका रुपमा स्थापित कम्पनी हो। यस उद्योगको यसअघि क्लिंकरको दैनिक क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन रहेकोमा हाल उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पुर्‍याएको जनाएको छ।