२०८१ बैशाख २१ , शुक्रवार

उपत्यका बाहिर जाने सवारी साधनलाई गोंगबू बसपार्क केन्द्रीत गर्न महानगरको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर जाने यातायातका साधनहरुलाई गोंगबु बसपार्क केन्द्रीत गर्न निर्देशन दिएको छ ।

 

महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै असार १ गतेभित्रै बसपार्क बाहिर रहेका लामो तथा मध्यम दुरीका यातायातका साधन गोंगबू बसपार्कबाट सञ्चालन हुने व्यवस्था गर्न र बसपार्क बाहिर रहेका टिकट काउन्टरहरु बन्द गर्न निर्देशन दिएको हो । सरोकारवालाहरुसँगको बैठकबाट यस्तो निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशनको अवज्ञा गर्नेहरुलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँगको समन्वयमा नगर प्रहरीले कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

 

ठाउँ ठाउँबाट टिकट बुक गर्ने, सवारी साधनहरु छुट्ने, जथाभावी पार्किङ गर्ने तथा जहाँ पायो त्यहीबाट यात्रु चढाउने र ओराल्ने गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापन लथालिङ्ग भएकाले सरोकारवालाहरुसँगको छलफलबाट यस्तो निर्णय गरिएको महानगरपालिकाको भनाई छ । यस्तै धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत लिएका सवारी साधनहरूलाई पनि कलङ्कीदेखि जडीबुटीसम्मको क्षेत्रमा रोक्न निषेध गरिएको पनि महानगरले बताएको छ ।

May be an image of text