२०८० चैत्र १५ , बिहिवार

म्युजिक भिडियोमा व्यस्त किरण, कति लिन्छन् पारिश्रमिक ?

सुनाखरी न्युज/ काठमाडौं । हास्य कलाकार किरण केसी (राता मकै) पछिल्लो समयका म्युजिक भिडियोमा व्यस्त कलाकारमध्येका एक हुन् । उनी अहिले महिनामा १० देखि १२ वटासम्म म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् ।

 

“कुनै गीतमा बुवा चाहियो म । अलि मात्तिएको मान्छे चाहियो म । नाच्न जान्ने अधबैँसे मान्छे चाहियो म । कमेडियन चाहियो म । रमाइलो मान्छे चाहियो म,” किरण भन्छन् । कति लिनु हुन्छ पारिश्रमिक ? “म फेल्कजिबल छु । यति नै भन्ने छैन । गीत र प्रोडक्सन हेरेर म पारिश्रमिक लिन्छु,” जवाफमा किरण भन्छन्, “एभरेजमा ४५ हजारदेखि ५० हजार लिन्छु ।” धेरैजसो म्युजिक भिडियोको छायांकन एकै दिनमा सकिने भएकाले समयमा हिसावले पनि म्युजिक भिडियोको काम सहज हुने उनको अनुभव छ ।

 

किरण अहिले मात्रै होइन पहिला पनि गीतमा नाच्ने गरेको स्मरण गर्छन् । शिव रेग्मी, अशोक शर्मा, राजकुमार राईलगायत निर्माताले सिनेमामा आफ्ना लागि भनेर छुट्टै गीत बनाउने गरेको उनको भनाइ छ । कमेडियनको भूमिकामा आफू हुँदा उनका लागि एउटा गीत छुट्ट्याइने गरेको उनको भनाइ छ । किरण तिजका गीतमा पनि अभिनय गर्दै आएका छन् । हरेक तीजमा किरण नाचेका गीत आउने गरेका छन् । आफूलाई टिकटकका कारण पनि धेरैले म्युजिक भिडियोमा लिने गरेको उनी बताउँछन् । आफ्नो रमाइलो स्वभाव पनि आफूलाई लिनुको अर्को कारण भएको उनको अनुभव छ । आफूले अभिनय गर्दा छायांकनस्थल पिकनिक स्पटजस्तो हुने गरेको उनको भनाइ छ । उनले हालसम्म करिब १८० वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।