२०८१ बैशाख १२ , बुधवार

‘पुष्पा २’ को टिम चढेको बस दुर्घटना, दुई जना गम्भीर घाइते

सुनाखरी न्युज / दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र रश्मिका मन्दना अभिनीत फिल्म पुष्पा २  को छायांकन भइरहेको छ। फिल्मको छायाङ्कन चलिरहँदा ‘पुष्पा २’ मा अभिनय गरिरहेका कलाकार चढेको बस दुर्घटनामा परेको छ। आन्ध्र प्रदेशबाट ‘पुष्पा २’ को सुटिङ गरेर हैदरावाद फर्किएका कलाकारहरुको बस दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

 

उक्त राजमार्गमा निर्माण टिम चढेको बस र आरटिसी बस ठोकिएको थियो। दुर्घटनामा दुई जना कलाकार घाइते भएका छन्। उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। तर निर्माण टिमले घाइते हुने कलाकारको नाम सार्वजनिक गरेका छैनन्।

 

केही समयअघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो। सार्वजनिक टिजरमा पुष्पा जेलबाट फरार भएको प्रसंगलाई देखाइएको थियो।टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको कौतुहलता बढेको छ। सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ।