२०८१ बैशाख ६ , बिहिवार

दयाहाङ र मिरूनाको ‘नांगो गाउँ’ ले अमेरिकामा पायो ४ सय शो

सुनाखरी न्युज/ काठमाडौं । अभिनेता दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म ‘नांगो गाउँ’ को अमेरिकाको राइट्स बिक्री भएको छ। अमेरिकामा ४ सयभन्दा बढी शोमा प्रदर्शन हुने नेपाल इलेभेनका प्याट्रिक सुवेदीले बताए। साथै उनले शोको संख्या थपिने बताए।

 

अमेरिकासँगै क्यानडाको राइट्स पनि बिक्री भइसकेको छ। फिल्मलाई अमेरिका र क्यानडामा नेपाल इलेभेनले प्रदर्शन गर्न लागेको हो। फिल्म ‘जारी’ पछि अमेरिकामा सबैभन्दा बढी माग भएको फिल्ममा ‘नांगो गाउँ’ रहेको सुवेदीले बताए। निर्माण टिमका अनुसार दुवै देशमा उच्च मूल्यमा बिक्री भएको हो। दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरूना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारको अभिनय छ।

 

हिमाल शर्माको प्रस्तुति रहेको फिल्ममा जय श्रेष्ठको लगानी छ। यो फिल्म भदौ २९ गतेदेखि प्रदर्शन हुनेछ। यो फिल्ममार्फत दयाहाङ र मिरूना तेस्रो पटक सहकार्य गर्दैछन्। यसअघि उनीहरू फिल्म ‘कबड्डी ४’ र ‘जारी’ मा एकसाथ देखिएका थिए। दुवै फिल्म बक्स अफिसमा हिट भएको छ।