२०८१ बैशाख २२ , शनिवार

सफा र चम्किलो बनाउन लगाउनहोस ओठमा गुलाफको प्याक

 

सुनाखरी न्युज/ काठमाडौं । सफा र चम्किलो ओठले मानिसको व्यक्तित्व खुलाउन निकै सहयोग गर्छ। तपाईंले घरमै गुलाफको पेस्ट बनाएर ओठमा लगाउन सक्नुहुन्छ। यसले ओठमा बेग्लै चमक ल्याउँछ। यसका लागि गुलाफको फूलका थोरै पत्तालाई पिसेर पेस्ट बनाउनुस्। थोरै मह वा नरिवलको तेलसँग यसलाई मिसाउनुस्। त्यसपछि ओठमा लगाएर १५–२० मिनेटसम्म छाड्नुस्। अनि, मनतातो पानीले पखाल्नुस्। दैनिक रूपमा यस्तो प्याक लगाउँदा हुने केही फाइदा यस्ता छन् :

 

 

मोस्चराइजेसन : गुलाफको पेस्ट यसरी लगाउनाले ओठ फुस्रो हुँदैन। चिल्लो र नरम हुन्छ।

शीतल : ओठलाई शीतल बनाउँछ। घामको प्रकाशका कारण ओठ डढेको वा चिलाएको हुन सक्छ। यस्ता समस्यामा पनि यो प्याक प्रभावकारी छ।

बुढ्यौली रोक्न : गुलाफमा राम्रो मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ। यसले चाउरीपन रोक्न सहयोग गर्छ।

चम्किलो छाला : गुलाफले छालालाई चम्किलो बनाउँछ । छालामा दागधब्बा पनि आउन दिँदैन र तपाईंलाई युवा देखाउँछ। गुलाफको मिठो बास्नाले मानिसको मुडलाई पनि राम्रो बनाउँछ। तसर्थ, ओठमा गुलाफको प्याक लगाउँदा तपाईंले आरामदायी महसुस गर्न सक्नुहुन्छ।

 

 

चिकित्सकसँग परामर्श
गुलाफको प्याक लगाउँदा सबै व्यक्तिमा एउटै प्रभाव देखिन्छ भन्ने छैन। कसै–कसैलाई एलर्जी पनि हुन सक्छ। त्यसैले पूरै ओठमा गुलाफको प्याक लगाउनुअघि थोरै भागमा मात्रै लगाएर एक वा दुईपटक परीक्षण गर्नु राम्रो हुन्छ। यदि तपाईंको छाला संवेदनशील छ वा अन्य कुनै समस्या छ भने तपाईंले यो अर्गानिक प्याकको प्रयोग गर्नुअघि छालारोग विशेषज्ञसँग परामर्श गर्नु राम्रो हुन्छ।