२०८१ जेठ ६ , आइतवार

एनआईसी एशिया बैंकको डिजिटल प्रणालीमार्फत अब थापाथली र पशुपति बहुमुखी क्याम्पसमा सजिलै भुक्तानी गर्न सकिने

सुनाखरी न्युज/ काठमाडौं । मुलुकभर फैलिएका शाखा सञ्जालहरुमार्फत आफ्ना लाखौँ ग्राहकमाझ गतिशील बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले काठमाण्डौस्थित इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसलाई डिजिटाइज गर्दै यी क्याम्पसका विद्यार्थीले आफ्ना हरेक शैक्षिक शुल्कहरु यस बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने प्रणाली उपलब्ध गराएको छ।

 

बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग डिजिटाइजेसन गर्ने विषयमा छुट्टाछुट्टै समझदारी गर्दैै यी क्याम्पसका विद्यार्थीले भर्ना शुल्क, सेमेस्टर शुल्क, परीक्षा तथा मासिक शुल्क, आइडी कार्ड शुल्क, प्राइओरिटी शुल्क, सर्टिफिकेट शुल्क, प्राक्टिकल शुल्क, फिल्ड रिपोर्ट शुल्क, टिचिङ प्राक्टिस शुल्क, रेकम्मेन्डेसन शुल्क वा अन्य कुनै पनि शुल्क यस बैंकको क्यूआर कोड, मोबाइल बैंकिङ एप, बैंकको वेबसाइटमा रहेको ई–सर्भिस र क्विक पे प्लेटफर्महरुमार्फत सजिलै भुक्तानी गर्न सक्नुहुने व्यवस्था मिलाएको छ। एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट शुल्क भुक्तानी गर्नुपरेमा एपभित्र रहेको ई–सर्भिसमा गएर क्याम्पसको नाम छनौट गर्नुपर्ने हुन्छ।

 

त्यस्तै बैंकको वेबसाइटमा रहेको ई–सर्भिसमा ट्याब गरी क्याम्पस छनौट गरेरसमेत भौतिक रुपमा क्याम्पसमा उपस्थित नभई आवश्यक शुल्क भुक्तानी गर्न सकिनेछ। यसका साथै क्याम्पसमा रहेको क्यूआर कोड स्क्यान गरेर वा क्याम्पसले उपलब्ध गराएको क्विक पे लिंकमार्फत पनि भुक्तानी गर्न सकिनेछ।

 

हालसम्म यी क्याम्पसमा अध्यनरत विद्यार्थीले आफ्नो शुल्क भुक्तानी गर्दा बैंक शाखामा उपस्थित भई कागजी भौचर भर्नुपर्ने, काउन्टरमा लामो लाइन लाग्नुपर्ने र बैंकले भुक्तानी जम्मा लिएको भौचर क्याम्पस प्रशासनमा बुझाउनुपर्ने बाध्यता रहेको थियो। यस सम्झौतासँगै विद्यार्थीले गर्नुपर्ने कागजी काम तथा नगद बोक्नुपर्ने बाध्यता हट्दै समय र लागत कम भएको छ भने क्याम्पस प्रशासनले आफ्नो डाटा, जानकारी, आर्थिक व्यवस्थापन, अडिट तथा रिपोर्टिङजस्ता कार्य रियल टाइममा गर्न सकिने भएको छ।

 

डिजिटल बैंकिङमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले यी क्याम्पसको भुक्तानीलाई डिजिटाइज गरेसँगै अब विद्यार्थीहरुले आफ्नो शुल्क बिना कुनै लाइनमा बसी सजिलै भुक्तानी गर्न सक्नेछन्। एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरु भएको बैंकहरुमध्येको बैंक हो। बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ४७३ एटीएम, १०८ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।

 

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ। देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु. ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको कम्पनीहरुमध्येको हो।

 

वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको छ।