२०८१ बैशाख २६ , बुधवार

बेलायती टिभी रियालिटी शो ‘लभ आइल्याण्ड’मा नेपालकी रुचि गुरुङको प्रवेश

सुनाखरी न्युज/ काठमाडौं । बेलायतको चर्चित टेलिभिजन रियालिटी शो ‘लभ आइल्याण्ड’मा नेपाली मोडल तथा ब्युटिसियन रुचि गुरुङले प्रवेश पाएकी छन् । डेटिङसम्बन्धी यो कार्यक्रम त्यहाँको आईटीभी २ बाट प्रसारण हुने गर्छ । निर्माताले सोमबार सार्वजनिक गरेको सूचीमा गुरुङको नाम पनि उल्लेख छ ।

 

उक्त कार्यक्रममा जानुअघि आईटीभीसँग कुरा गर्दै गुरुङले भनिन्, ‘म अविवाहित छु र मायाको खोजीमा छु, र यो मेरो लागि कसैलाई खोज्ने उत्तम अवसर हो ।’ उनले आफूलाई सम्बन्धमा बस्ने स्वभावकी केटीको रुपमा अर्थ्याउँदै भनिन्, ‘म सम्बन्धमा बस्न रुचाउँछु तर अहिलेसम्म त्यस्तो मौका पाएकी छैन । त्यसैले म भिलामा सही व्यक्ति फेला पार्ने आशामा छु ।’उनले भनिन्, ‘म साँच्चिकै केयरिङ खालकी केटी छु । जब म कसैसँग हुन्छु, म उससँगै समय बिताउँछु । म साँच्चिकै बफादार छु र मेरो लागि विशेष भएका मानिसका लागि राम्रा काम गर्न मन पराउँछु । मेरो मायाको भाषा उपहार दिने हो, त्यसैले सम्बन्धको कुरा गर्दा म वास्तविक दाता हुँ ।’

 

रुचिले इन्स्टाग्राममा प्रशस्तै कामुक तस्वीरहरु पोस्ट गरेकी छन् । आगामी जुन ५ देखि प्रसारण सुरु हुने तयारीमा रहेको यो रियालिटी शोमा सुपरमोडल, ब्युटी क्लिनिक मालिक, फुटबल खेलाडी र फ्रान्सेली मोडलले सहभागिता जनाउँदैछन् । यो शोमा एक सामुन्द्रिक टापुमा प्रतियोगी मायाको लागि प्रतिस्पर्धा गर्छन् । उक्त क्रममा माया प्राप्त गर्न नसक्ने र धोका खाने बाहिरिन्छन् । शोको यो दशौं श्रृंखला हो र जित्नेले ५० हजार पाउण्ड पुरस्कार प्राप्त गर्नेर्छन् । रुचिलाई लिएर सामाजिक सञ्जालमा व्यापक टिप्पणी आएको छ ।