२०८१ बैशाख २६ , बुधवार

भ्रष्टाचारी प्रवृत्तिको कथा नीरफूल

सुनाखरी न्युज/ काठमाडौं । अभिनेता दयाहाङ राईले आफूलाई मनपर्ने चलचित्र ‘नीरफूल’ रहेको बताउनुभएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले आफूले अभिनय गरेको र हलमा सफल रूपमा चलिरहेको ‘जारी’ जस्तै गरी ‘नीरफूल’ पनि मन परेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो चलचित्र खिच्न गणेश हिमालमुनिको रुवी भ्यालीमा हामी धेरै मुस्किलले पुगेका थियौँ । मेहनत पनि राम्रै गरेका छौँ । मैले अभिनय गरेको राम्रा चलचित्रमध्ये यो पनि एक हुने छ ।”

 

चलचित्र यही जेठ २६ गते रिलिज हुँदै छ । कोरोना महामारीका कारण रिलिज रोकिएको यो चलचित्र फुलमान वलले लेखन तथा निर्देशन गर्नुभएको हो । निर्देशक वलले चलचित्रमार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्रमा भूकम्प आउँछ, तर यो चलचित्र भूकम्पको कथामा आधारित हैन । भ्रष्टाचारी प्रवृत्तिले हाम्रो समाज र जीवनमा ल्याउने भूकम्प चाहिँ चलचित्रमा छ ।” अर्का अभिनेता बुद्धि तामाङले नीरफूलको कथावस्तु र तामाङहरूको मौलिक संस्कृतिमा काम गर्दा निकै आनन्द आएको बताउनुभयो । समसामयिक विषयसँगै मौलिक संस्कृतिमा केन्द्रित रहेको उहाँले जिकिर गर्नुभयो । आफू यो फिल्ममा सञ्चारकर्मीको भूमिकामा रहेको पनि उहाँले खुलाउनुभयो ।

 

अभिनेतृ शान्ति वाइबाले आफू रङ्गमञ्चबाट आएको बताउँदै स्थापित कलाकार दयाहाङ राईसँग काम गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतले अभिनय गर्नुभएको छ ।