२०८२ चैत्र २ , सोमवार

नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

सुनाखरी न्युज/ काठमाडौं । नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ । तत्कालीन राष्ट्रपति बिद्यादेवी भण्डारीले रोक्नु भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको हो । अघिल्लो प्रतिनिधिसभाकै बेला संघीय संसद बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको हो ।

 

सो विधेयकमा केही प्रश्न उठाउँदै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाउनुभएको थियो । संसदका दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । विधेयकमा चित्त नबुझेको भन्दै भण्डारीले संसद्लाई फिर्ता पठाउनुभएको थियो । विधेयकका मुख्य विषय ‘२०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ भन्ने उल्लेख छ। कानुन नहुँदा यसअघि जन्मका आधारमा नागरिकता लिएका सन्तानमध्ये ५ लाखभन्दा बढी नागरिकताबाट वञ्चित भएको तथ्यांक छ। विधेयकमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मान्ने, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ ।

 

यस्तै विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने लगायतका प्रावधान विधेयकमा छन् । दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर गत वर्ष भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो। १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालीन राष्ट्रपति भण्डारीले त्यसलाई रोकेर राख्नुभएको थियो । त्यही विधेयक ९ महिनापछि प्रमाणीकरण भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । त्यस अघि यो बिधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

May be an image of text