२०८२ चैत्र २ , सोमवार

दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान हुन्छ : प्रधानमन्त्री दाहाल

सुनाखरी न्युज /  काठमाडौँ  – प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताएका छन्।मंगलबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 

उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरुको अुनसन्धान गरी निचोडमा पुग्ने प्रतिबद्धता जनाइ ।प्रधानमन्त्री दाहालले भने, ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन्। क्रमशः खुल्छन्। खुलाइन्छन्। मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजीनीति गरिन्छ।

 

ठूलाठूला भयानक हत्याकाण्डहरु छन्, ती हत्याकाण्डहरूको खोजीनीति गर्नुछ। चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड। त्यसको छिनोफानो भएको छैन। सत्यतथ्य आएको छैन। यी सबैकुराहरु पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ।’ उनले आफ्नो बुधवारबाट हुने भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको ग्यारेन्टी हुनेगरी छलफल गर्ने प्रतिवद्धता जनाए।