सुनाखरी न्युज/ काठमाडौं । गणतन्त्र दिवसको अवसरमा आम माफी पाएका रेशमलाल चौधरी कारागारबाट रिहा भएका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका उनी केहीबेर अघि कारागारबाट छुटेका हुन् ।
२०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलनको क्रममा टिकापुरको हिंसा सिर्जित हुन पुग्यो । सो क्रममा तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको भएको थियो ।
हिंसाको मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई अदालतले जन्म कैदको फैसला सुनाएको थियो । तर मन्त्रिपरिषद्ले आइतबार रेशमलाई आममाफी दिन सिफारिस गरेको थियो । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी दिएका हुन् ।
पाँच वर्ष तीन महिना जेल सजाय भोगेका चौधरीले १४ वर्ष ९ महिना जेल सजाय छुट भएको पाएका हुन् । थारु आन्दोलनकै क्रममा भएको हिंसापछि रेशमको घर, एफएममा आगजनी गरिएको थियो । त्यस्तै थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भएको थियो ।