सुनाखरी न्युज/ काठमाडौं । च्याउका परिकार पनि थुपै्र बनाउन सकिन्छ । च्याउ हालेर बनाइने सुप, तरकारी, पिज्जा त धेरैले खानुभएको होला । तर यसको छोयला भने धेरैको लागि नयाँ हुन सक्छ । छोयला भन्ने बित्तिकै हाँसको, भटमासको, सोयाबिनको, मासुको मात्र हुन्छ भन्ने लाग्न सक्छ । त्यति मात्र नभई च्याउको पनि छोयला निकै मीठो हुन्छ । आजभोलि रेस्टुरेन्ट तथा होटलहरुमा पनि अत्यधिक रुचाइने परिकारमध्ये यो पनि एक हो । यसको स्वादिष्ट परिकार घरमै एकैछिनमा सहज तरिकाले पकाउन सकिन्छ ।
आवश्यक सामग्री:
६० ग्राम च्याउ मसिनो गरी काटेको,खुर्सानी तीनवटा ,नुन स्वादअनुसार,जिरा,बेसार ,गोलभेंडा दुईवटा ,ताजा धनियाँ ,हरियो लसुन ,टिमुर ,प्याज ,कागतीको रस वा लप्सीको धुलो ,खुर्सानीको धुलो, तोरीको तेल र मेथी
पकाउने विधि:च्याउलाई जालीमा राखेर पोल्नुपर्छ । घरमा बनाउँदा जाली उपलब्ध नहुन सक्छ । त्यसको विकल्पको रुपमा च्याउलाई फ्राइ गर्न सकिन्छ । सबैभन्दा पहिला ग्यासमा कराही वा प्यान राख्ने, तातेपछि च्याउ भुटिने गरी तेल हाल्ने, तेल तातेपछि तयार पारिएको च्याउलाई रातो हुने गरी फ्राइ गर्नुपर्छ ।
त्यसपछि एउटा भाँडामा निकालेर राख्ने, च्याउमा पोलेको गोलभेंडा, खुर्सानी, लसुन, नुन, टिमुर, प्याज हाल्ने, त्यसमा अमिलोको लागि कागतीको रस हाल्नुपर्छ । त्यसपछि तोरीको तेल एउटा भाँडामा तताएर त्यसमा मेथी, बेसार हालेर झान्ने र च्याउमा हाल्नुपर्छ । अनि राम्रोसँग मोलेर धनियाँ मसिनो गरी काटेर गार्निस गर्ने, यति गरेपछि स्वादिष्ट च्याउको छोयला तयार हुन्छ ।