२०८१ बैशाख ८ , शनिवार

नेपाल टेलिकमद्वारा जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ सेवा सुरु

सुनाखरी न्युज / काठमाडौं ।नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’को सुरु गरेको छ। गत जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ गरिएको हो।

 

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लामा ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवाको सुरु गरेका थिए। एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन्। यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटीटीएच सेवा उपलब्ध गराइसकेको छ।

 

फाइबर टु द होम (एनटी फाइबर) सेवाको हाल उपलब्ध अफरअन्तर्गतको प्याकमा एकैपटक चारवटा सुविधा लिन सकिन्छ। यसबाट एकैपटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटासमेत चलाउन सकिन्छ। एउटै तारबाट आवश्यकताअनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात ‘अब एउटैमा ३ प्लस १’ सेवा नामाकरण गरेको छ।

 

हाल स्प्रिङ अफरअन्तर्गत डाटा सुविधामात्र उपलब्ध भएको एफटीटीएच प्याकेज वार्षिक रु. ८ हजारमा उपलब्ध छ। त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक रु. १२ हजारमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइएको छ।