२०८१ बैशाख १३ , बिहिवार

वीर अस्पतालको सेवामा एक हप्ताभित्र सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

सुनाखरी न्युज/ काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रवार वीर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् ।
वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताउँदै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीरको सेवा सुविधा सुधार हुनुपर्नेमा जोड दिए ।

विश्व स्वास्थ्य सङ्गठनको महासभामा भाग लिएर शुक्रवार बिहान काठमाडौँ आइपुगेका मन्त्री बस्नेतले एक हप्ताभित्र बिरामीहरूले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् ।

मन्त्री बस्नेतले भने, ‘वीर अस्पताल देशको लिडर अस्पताल हो । वीरको सेवामा तत्काल सुधार हुनै पर्छ । ’ वीरको सेवा सुधार्न हरेक चिकित्सकले इमानदार प्रयास गर्नुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री बस्नेतको भनाई छ ।

मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्राडा भूपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा।सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका बिषयमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडाइलासिस, आइसियु, आकस्मिक कक्ष, जनरल वार्ड, ग्यास्ट्रो, उपकुलपति कार्यालय लगायत वीर अस्पतालका महत्त्वपूर्ण विभागहरूको निरीक्षण गरेका थिए ।

मन्त्री बस्नेतले टिकट काउण्डरको भिड कम गर्न र सेवा सहज बनाउन अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाएर त्यसको जानकारी सर्वसाधारणलाई हुने गरी व्यवस्था गर्न निर्देशन दिएका छन् । त्यसैगरी अस्पतालमा रहेका बेड र आइसियु बेड खाली भए नभएको जानकारी वेबसाइटमा राख्न समेत मन्त्रीले निर्देशन दिएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्रा. डा.भूपेन्द्र बस्नेतले स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन अनुसार वीर अस्पतालको सेवामा देखिने गरी परिवर्तन गरिने बताए । निरीक्षण टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेल, देवकुमारी गुरागाईँ, अतिरिक्त सचिव डा। संगीता मिश्र र मन्त्रालयका अधिकारी थिए ।