२०८१ बैशाख ७ , शुक्रवार

संसदमा पशुपतिको जलहरी विवादः माफी माग्नुपर्ने एमाले माग, माओवादी भन्छ, छानबिन गरौं

सुनाखरी न्युज/ काठमाडौं ।

पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे संसदमा विवाद भएको छ ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको संसद बैठक अझै सुरु भएको छैन ।

मध्यान्ह बैठक सुरु भए लगतै एमाले सांसदहरुले पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिमा आपत्ति जनाए । १० जेठमा बोलेका दाहालले ‘पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचार’ भनेका थिए ।

 

त्यसमा आपत्ति जनाएका एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले जलहरीमा सुन कि पित्तल छिनोफोनो हुनुपर्ने बताए ।

साथै आफ्ना नेता केपी शर्मा ओलीबारे आपत्तिजनक अभिव्यक्ति दिने सांसदले माफी माग्नुपर्ने माग गरे ।

सभामुखले यसबारे सरकारले जवाफ दिने भन्दै बैठक सुचारु गर्न सहयोग खोजे । त्यही बेला माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उठेर संसादमा बोल्न पाइने बताएपछि एमाले सांसदहरुले रोष्टम घेराउ गरे । सभामुखले बैठक स्थगित गरे ।

२० मिनेटका लागि स्थगित भएको बैठक यो समाचार तयार पार्दासम्म सुरु भएको छैन । सभामुखले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् ।