२०८० चैत्र १६ , शुक्रवार

आजदेखि प्रसारणमा आउँदै हास्य टेलिश्रृङखला ‘सक्किगो नि’

सुनाखरी न्युज /  काठमाडौँ –  चर्चित हास्य टेलिश्रृङखला ‘सक्किगोनि’को तेस्रो सिजनको प्रसारण सुरु भएको छ । निर्माण संस्था जेपीटी क्रिएसनले सामाजिक संजालमार्फत श्रृखलाको प्रसारणबारे जानकारी दिएको हो । समाज, राजनीति र प्रेमलाई कटाक्ष गर्ने कुरा त भइहाल्यो, अस्पतालका कारण नागरिकले कसरी दुःख पाइरहेका छन् भन्ने यथार्थलाई प्रस्तुत गरिएको छ ।

 

सिरियलको अन्तिम दृश्य निकै शक्तिशाली लाग्छ । जहाँ बिरामीहरुलाई अस्पतालको शय्यामा सिक्रीले बाँधेर राखिएको छ । उपचारबापत शुल्क तिर्न नसक्ने नागरिकलाई अस्पतालले कसरी बन्धक बनाएर राखेका छन् भन्ने यथार्थलाई यसमा देखाइएको छ । जुन दृश्यमा डायलग भनिएको छ, ‘कतै हाम्रा अस्पतालहरु जेल त बनिरहेका छैनन् ? सरकार जनताले सर्वसुलभ स्वास्थ्य सुविधा कहिले पाउने ?’बिहीवार टेलिश्रृङखलाको पहिलो एपिसोड प्रसारणमा आएको हो । अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले यस टेलिश्रृङखलाको लेखन एवं निर्देशन गर्दै आएका छन । शीर्ष भूमिकामा उनीहरूको अभिनय समेत रहँदै आएको छ ।

 

तेस्रो सिजनको पहिलो एपिसोडमा यसअघिका अधिकांश कलाकारहरू छन् । ‘जिग्री’लाई भने पहिलो एपिसोडमा देख्न पाइएको छैन ।‘सक्किगोनि’को पहिलो एपिसोड मनोरञ्जनात्मकसँगै सन्देशमूलक समेत बनाइएको छ । अस्पतालहरूले बिरामीलाई कसरी ठगिरहेको हुनसक्छन् भन्ने सन्देश रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । ‘कतै हाम्रा अस्पतालहरू जेल त बनिरहेका छैनन् ?’ भन्दै अन्तिममा राज्यलाई प्रश्न सोधिएको छ ‘सरकार, जनताले सर्वसुलभ स्वास्थ्य सुविधा कहिले पाउने ?’

 

निर्देशक अर्जुन घिमिरे भने सिरियल कमेडी जनरामै आउने बताउँछन् । ‘हाम्रो सिरियल निर्माण जनरा जहिले पनि कमेडी नै हुनेछ । किनभने हामीले गर्दै आएको र जानेको विषय यही हो’, घिमिरेले भने, ‘सामाजिक कथामा अब कमेडी मार्फत पस्किन लागेका हौँ ।’ अबको शृङ्खलामा दर्शकले पहिलेभन्दा पनि रमाइलो गर्न सक्ने घिमिरेले दाबी गरे ।