२०८० जेठ १९ , शुक्रवार

किन बढेका बढ्यै छन् विवाहोत्तर सम्बन्धका उजुरी ?

Women comission

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय महिला आयोगमा अहिले  महिलाहरू मात्र होइन पुरूषहरू पनि पुग्ने गरेका छन्। आयोगमा पुग्नेहरूमध्ये धेरैका उजुरी विवाहोत्तर सम्बन्धबारे हुन्छन्। आयोगमा केही वर्षअघिसम्म घरेलु तथा यौन हिंसाका उजुरी लिएर धेरै महिला पुग्ने गर्थे। आयोगले ती उजुरीमाथि आवश्यक छानबिन र छलफल गरेर किनारा लगाउँथ्यो।

 

पाँच-सात वर्षअघिसम्म श्रीमानले कुटपिट गरेका, घरेलु हिंसामा परेका उजुरी धेरै आउँथे। अहिले बाहिरी सम्बन्धका कारण मनमुटाव हुने, झै(झगडा हुने, मानसिक तनावका उजुरी बढी आउन थालेका आयोगकी प्रवक्ता चमिला भट्टराईले अनुभव गरेकी छन्। पछिल्लो समय भने आयोगमा आउने उजुरीको प्रकृति फेरिएको छ।

 

विवाहोत्तर सम्बन्ध राख्नु मुख्य कारण धेरै श्रीमान-श्रीमतीले आर्थिक सहयोग नपाएको, एकअर्कोलाई नबुझेको, गलत व्यवहार गर्ने गरेको, नियममा बाँधिनु परेको, आवश्यक सहयोग तथा माया नपाएको मनोविमर्शकर्ता सुवेदीलाई बताउँछन्।

कतिपय रोजगारीको खोजीमा विदेशिनु, घरेलु हिंसा, कष्टकर जीवन, श्रीमान-श्रीमतीबीच लैंगिक विभेद, यौनिक हिंसा, आर्थिक वा सांस्कृतिक हिंसा पनि यसमा जोडिएका छन्। यीसँगै सामाजिक सञ्जाल र सञ्चार साधनमाथि बढेको पहुँचले पनि विवाहोत्तर सम्बन्धको अनुपात बढेको हुनसक्ने उनी बताउँछिन्। ‘एक अर्काका स-साना गल्ती सुधार्नेतिर भन्दा विकल्प खोज्नेतिर लागेको देखिन्छ,ʼ उनले भनिन्।

 

आयोगले उनीहरूलाई सोच्ने समय दिँदा दश जनामा एकरदुई जनाले मात्र मिल्ने कुरा गर्छन्, धेरैजसोले छुट्टिने निर्णय गर्छन्। छुट्टिन चाहनेलाई अदालतमा पत्राचार गरी निस्शुल्क मुद्दा लड्न आयोगले सहयोग गर्छ। प्रवक्ता भट्टराईले बाहिरी सम्बन्धका घटनाले झगडामात्र नभई घरेलु हिंसा निम्त्याउने गरेको बताइन्।

विवाहोत्तर सम्बन्धकै कारणले उजुरी आएको भनेर आयोगले छुट्टै तथ्यांक राखेको छैन। तर अधिकांश हिंसाको जड त्यही हुने गरेको प्रवक्ता भट्टराईले बताइन्। आयोगमा चालु आर्थिक वर्ष २०७९-०८० को चैतसम्म ६ सय ५७ उजुरी परेका छन्। तीमध्ये ५ सय ९२ घरेलु हिंसाका र ६५ महिला हिंसाका छन्। विगत पाँच वर्षको तथ्यांक हेर्दा २०७८-०७९ मा १ हजार ४ सय ६४ उजुरी परेका थिए। तीमध्ये १ हजार ३१८ घरेलु हिंसा, १ सय ४६ महिला हिंसाका उजुरी थिए।

२०७७-०७८ मा १ हजार ५ सय ७५ उजुरी आयोगमा परेका थिए। त्यसमध्ये घरेलु हिंसा १ हजार ३ सय ५५ र २२० महिला हिंसाका उजुरी थिए।

त्यस्तै, २०७६-०७७मा १ हजार १ सय ९ उजुरी आयोगमा परेका थिए। तीमध्ये ९६९ घरेलु हिंसा र १४० महिला हिंसा थिए भने २०७५र०७६ मा १ हजार ४ सय ६१ उजुरी परेका थिए। त्यसमा १ हजार ३ सय ३ घरेलु हिंसा र १ सय ५८ महिला हिंसाका उजुरी थिए।

२०७४-०७५ मा भने ८ सय ८३ उजुरी परेका थिए। तीमध्ये ७ सय ४६ घरेलु हिंसा र १ सय ३७ महिला हिंसाका उजुरी आयोगमा आएका थिए।