२०८१ बैशाख २२ , शनिवार

गिभिना मगरले नर्सहरुसंग मागिन् माफी , भनिन् ‘म बाट भुल भयो’

सुनाखरी न्युज / चितवन –  वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालकी नर्सको विषयमा भिडियो बनाएर विवादिद बन्नुभएकी गिभिना मगरले माफी माग्नुभएको छ । गिभिनाले आफूले नजानेर गल्ती गरेको भन्दै बुधबार सार्वजनिक रुपमा माफी माग्नुभएको हो ।उनले आफ्नो उद्देश्य नर्स पेसा गरिरहेकाहरूमा चोट पुर्‍याउने नरहेको र औषधि समयमा नदिइँदा भएको विवादलाई सामाजिक सञ्जालमा राख्नु भूल भएको बताएकी छिन्।आफ्नो कारणले गर्दा नर्सिङ पेशामा आवद्ध सबैलाई चोट पुगेको, चरित्र हत्या भएकोमा धेरै दुःख लागेको गिभिनाले स्वीकार गर्नुभएको छ । आफ्नो त्यो उद्देश्य नरहेको र मान्छेबाट भुल हुने भएकाले आगामी दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिवद्धता गिभिनाले व्यक्त गर्नुभएको छ।

 

घटना घटेर सबैलाई दुखी बनाएको उहाँको स्वीकारोक्ति छ। आफूलाई पनि नर्सिङ पेशा एकदमै मनपर्ने तर आर्थिक अभावका कारण नर्सिङ पढ्न नपाएको दुखेसो गिभिनाको छ। बिरामीको कुरामा भवनामा डुबेर कुरा नबुझी भिडियो बनाएको उहाँको भनाइ छ।अस्पतालमा उपचाररत १६ वर्षीया बालिकालाई दिउँसो २ बजे दिनुपर्ने औषधि ४ बजे दिइएको भन्दै विवाद भएपछि उनले वार्डमा रहेका नर्सहरूसँगको भिडियो खिचेर टिकटकमा पोस्ट गरेकी थिइन्। २४ घन्टामा दिने इन्जेक्सन दिउँसो २ बजे लगाउनुपर्नेमा नर्सले ढिला गरेको भन्दै गिभिनासँग विवाद सुरु भएको थियो।

 

गिभिनाले ती बालिकाको उपचारका लागि आर्थिक सहयोग जुटाउँदै आएकी छिन्। ती बालिका पछिल्लो एक वर्षदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन्। बुबाको सानै उमेरमा मृत्यु भएको र आमाले अर्को विवाह गरिसकेकाले उनले उपचारका लागि आर्थिक समस्या खेप्दै आएको र अस्पतालमा कार्यरत नर्सहरूले समेत सहयोग गरिरहेका छन्।उक्त भिडियोमा नकारात्मक कमेन्ट आएका थिए । नर्सहरुमाथि तथानाम गाली आउन थालेपछि नर्सहरुले चरित्र हत्या भएको भन्दै आपत्ति जनाएको थिए । भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न गिभिनालाई कारबाहीको माग गर्दै नर्सहरु आन्दोलित भएका थिए। नेपाल नर्सिङ संघले साईबर क्राईम अन्तर्गत कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी समेत परेको थियो ।