२०८१ बैशाख १५ , शनिवार

पश्चिम रुकुमको बाँफीकोटमा जीप दूर्घटना, पाँच जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । रुकुम पश्चिममा बिहीबार बिहान जीप दूर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिकाबाट खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप बाँफीकोट गाउँपालिकाको वडा नम्बर ८ को तोरीधारा मोटेखोला भन्ने स्थानमा दूर्घटना भएको हो ।

 

पाँच जनाको घटनास्थलमै मृत्यु भएको र जीपमा रहेका कम्तिमा आधा दर्जन घाइते भएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सानोभरी नगरपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट – ८ का २२ वर्षीय रेखा खनाल, उनका छोरा रोशन केसी र सोही ठाउँका नाम नखुलेका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

१५ जना सवार जीप कच्ची सडकबाट चार सय मिटर तल खसेको हो । जीपमा रहेका अन्य दश जना घाइते रहेको र घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । घाइतेहरुलाई उपचारका लागि लैजान हेलिकप्टर माग गरिएको बाफिकोट गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर खत्रीले बताएका छन् ।