२०८१ बैशाख ७ , शुक्रवार

रिस किन उठ्छ र कसरी शान्त पार्ने ?

सुनाखरी न्युज /  रिसले सानो मात्र होइन ठूलो कामलाई पनि धक्का पु(याउँछ । सानो कुरामा रिस नियन्त्रण गर्न नसक्दा जीवनभरका लागि ठूलो क्षतिसमेत पुग्न सक्छ । त्यसमा पछुतोबाहेक अरु केही हुँदैन । कहिलेकाहिँ रिस उठ्नु सामान्य हो । भलै, रिसले फाइदाभन्दा हानि नै ज्यादा गर्छ । खासमा रिस उठ्छचाहिँ किन त ?

 

वैज्ञानिकहरुको भनाइमा रिस हाम्रो भावनालाई व्यक्त गर्ने एक माध्यम हो । जतिबेला हामी कुनै समस्यामा पर्छौं या मनमा कुनै डर पस्छ, कुनै चिज गुमाउने डर हुन्छ तर त्यसको सामना गर्ने कुनै उपाय वा आँट हुँदैन, त्यतिबेला हामीलाई रिस उठ्छ । कुनैबेला हामी कसैलाई आफ्नो कुरा सम्झाउन चाहन्छौँ तर दोस्रो व्यक्ति कुरा सुुन्नुको साटो वादविवाद गर्न थाल्छ । यस्तो अवस्थामा हामी आफ्नो साधारण स्वरुप बिर्सेर ऊप्रति रिस पोख्न थाल्छौँ । रिस उठेका बेला हर्मोनको प्रभावले हाम्रो दिमाग शून्य हुन्छ । यसको असर हाम्रो सोच्ने क्षमतामा पर्छ । त्यसैले, हामी कसैलाई नराम्रो व्यवहार गर्न पुग्छौँ । अनि पछि पछुतो हुन्छ ।रिस कम गर्ने र नियन्त्रणमा राख्ने उपाय :

 

सादा खाना  –  शरीरमा कुनै पनि समस्याको सुरुआत खानपानको गडबडीले हुन्छ । ज्यादा मसालेदार खाना शरीरका लागि हानिकारक छ । यसबाट शरीरमा ज्यादा गर्मी पैदा हुन्छ, जसले रिस ज्यादा उठाउँछ । त्यसैले, धेरै रिस उठ्ने मान्छेले सधैँ सादा  तेल, मसला, पिरो कम भएको  खाना खानुपर्छ ।

व्यायाम –   घरी–घरी रिसाउने बानीले शरीरमा रिससँग सम्बन्धित रसायनको मात्रा बढ्दै जान्छ । यसलाई निकाल्ने सबैभन्दा राम्रो उपाय व्यायाम हो । त्यसैले, रिस कम गर्न हरेक बिहान व्यायाम गर्नुपर्छ ।

पूरा निद्रा –  रिस त्यतिबेला उठ्छ, जतिबेला तनाव बढ्छ । रिसको सिधा सम्बन्ध तनावसँग हुन्छ । तनाव कम गर्ने सबैभन्दा राम्रो उपाय पूरा निद्रा लिनु हो । तनाव घट्दा रिस आफैँ घट्छ ।

हिँडडुल – रिसलाई सामान्य अवस्थामा ल्याउनको लागि तनावमुक्त वातावरणको सिर्जना गर्नुपर्छ । बाहिरी वातावरणमा समायोजन हुन सकियो भने पनि रिसलाई शान्त पार्न सकिन्छ, जसका लागि कोलाहल र अशान्तबाट निस्किएर बाहिरतिर हिँडडुल गर्नु जरुरी देखिन्छ ।

 

आफन्तसँग कुरा गर्ने –  यदि ट्राफिक जाम देखेर रिस उठ्छ भने त्यो बेला साथीसँग कुरा गर्दा रिस कम हुन्छ । यस्तो नभए आफूले आफैसँग कुरा गरेर मन शान्त गराउन सकिन्छ ।

मनोचिकित्सकसँग परामर्श –  सधैँ रिस उठेको महसुस हुन्छ भने यो एक गम्भीर मानसिक रोग हुन सक्छ । मस्तिष्कमा रसायनको अनुपात वा सन्तुलन बिग्रँदा रिस धेरै उठ्छ । यस्तो अवस्थामा तुरुन्तै मनोचिकित्सकलाई भेट्नुपर्छ । उपचार गराउनुपर्छ ।

संगीत सुन्ने –  रिस उठेका बेला मनपर्ने गीत सुन्दा रिस शान्त हुन्छ । यसलाई म्युजिक थेरापी भनिन्छ ।

लामो, गहिरो सास लिने –  रिस उठ्नेबित्तिकै लामो सास फेर्नाले रिस कम हुन्छ । यसले मस्तिष्कमा अक्सिजनको मात्रा बढाउँछ र दिमाग शान्त हुन्छ । यसका लागि एकान्त ठाउँको खोजी गर्न सकिन्छ ।