२०८० चैत्र १६ , शुक्रवार

प्राथमिकताभित्रको प्राथमिकीकरण स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम तर्जुको पहिलो सर्त

सुनाखरी न्युज/ काठमाडौं । स्थानीय तहले नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा प्राथमिकतालाई प्राथमिकीकरण गर्नु पर्ने अर्थविदहरुको सुझाव छ । उपत्यका उपप्रमुख÷उपाध्यक्ष सञ्जालको तेस्रो बैठकमा स्थानीय तहको वार्षिक नीति, बजेट तथा कार्यक्रम तर्जुमा विषयक कार्यपत्र प्रस्तुतिका क्रममा यस्तो सुझाव प्राप्त भएको हो ।

सञ्जालको पहिलो बैठक काठमाडौँ महानगरपालिकाले, दोस्रो बुढानिलकण्ठ नगरपालिकाले आयोजना गरेका थिए । हरेक महिना बस्ने बैठक नगरपालिकाहरुले पालो पालो आयोजना गर्ने गरेका छन् । जुन नगरपालिकाले बैठक आयोजना गर्छ, उही नगरपालिकाका उपप्रमुख÷उपाध्यक्षले बैठकको अध्यक्षता गर्ने गरेका छन् । बैठकमा समसामयिक विषयसँगै उपप्रमुखको जिम्मेवारीमा पर्ने महत्वपूर्ण एक विषयमा प्रस्तुति तथा छलफल हुने गरेको छ । पहिलो बैठकमा न्यायिक समितिको काम, दोस्रोमा अनुगमन प्रक्रियाका विषयमा प्रस्तुति र छलफल भएको थियो । आजको बैठकमा प्रस्तुति गर्दै अर्थ मन्त्रालयका सहसचिव (बजेट महाशाखाका प्रमुख) धनीराम शर्माले, संवैधानिक अधिकार, नगरको आवधिक योजना, संघ र प्रदेश सरकारका कार्यक्रम, नागरिकका सुझावका आधारमा योजना तर्जुमा गर्नु पर्नेमा जोड दिनुभयो । ‘स्रोतको सीमा, क्षेत्रगत कामको सन्तुलन, अनुदान (समानीकरण, सशर्त, निशर्त) आन्तरिक आय विश्लेषण गर्नुपर्छ । पैसाका आधारमा योजना बनाउनु हुँदैन । योजनाको लागत बनाएर त्यसका आधारमा बजेट बिनियोजन गर्नुपर्छ । यसबाट कार्यान्वयन योग्य कार्यक्रम निर्माण हुन्छ ।’ शर्माको सुझाव छ । शर्मा शर्माले महानगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा २०७४ श्रावण ३२ गते पद वहाली गर्नुभएको थियो ।

 

बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले, नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्ने समय पारेर विज्ञहरुसँग छलफल गराएपछि उपत्यकालाई एउटै मापदण्ड र कार्यक्रमका आधारमा विकास गराउन सहज हुने धारणा राख्नुभयो । ‘नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्नभन्दा कार्यान्वयन गरेर नतिजा ल्याउनु महत्वपूर्ण काम हो ।’ उपप्रमुख डंगोलले, उपत्यकालाई सांस्कृतिक समृद्ध नगरका रुपमा विकास गराउन समान बुझाइ विकास गराउनमा सञ्जालका क्रियाकलाप थप लाभदायी बन्दै गएको धारणा राख्नुभयो । धारणा राख्ने क्रममा सूर्य विनायक नगरका प्रमुख बासुदेव थापाले, नगरको विकासका लागि प्रमुख र उपप्रमुखहरुका बिचमा कुनै पनि विषयमा फरक मत नरहेको धारणा राख्नुभयो । ‘बजेट निर्माण, स्रोतको अनुमान, राजस्वलगायत क्षेत्रमा उपप्रमुखको नेतृत्वमा काम हुन्छ । उपप्रमुखहरुका बिचमा साझा धारणा निर्माण हुँदा उपत्यकाको दिगो विकासमा सहयोग हुन्छ ।’ प्रमुख थापाको भनाइ थियो ।

 

आपसी अनुभव आदान प्रदान गर्दा उत्पादन प्रवर्धनमा पनि टेवा पुग्छ । कार्यक्रममा सूर्य बिनायक नगरकी उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले भन्नुभयो, ‘हाम्रो नगरपालिकामा कुरिलो लगायत तरकारीजन्य उत्पादन हुन्छ । यो काठमाडौँलाई चाहिएको छ । इलाम नगरले निर्यात गर्ने चिया प्याकेजिङ् गर्न जनशक्ति पाएको छैन । त्यो काम हामी गरिदिन सक्छौँ ।’

 

आवश्यकता पहिचान नगरी संघ र प्रदेश सरकारबाट आउने कार्यक्रम कार्यान्वयन गराउन पालिकाहरुलाई समस्या छ । बैठकमा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले भन्नुभयो, ‘वडाध्यक्षले शिफारिस नगरी आफ्नै वडाको योजना नगरपालिकाले कार्यान्वयनमा ल्याउँदैन । प्रदेश र संघ सरकारका योजना थाहै नपाइ आउँछन् ।’ त्यस क्रममा दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती तामाङ् डंगोलले, गत बर्षका क्रमागत योजनालाई निरन्तरता दिन स्रोतका कारण चुनौती रहेको उल्लेख गर्नुभयो । संघ सरकारले दिएको अनुदानलाई आधार मानेर तर्जुमा गरिएका योजना, अनुदान रकम घटेर आउने भएपछि सम्पन्न गर्न चुनौतीपूर्ण मोडमा छन् । उपप्रमुखको भनाइ थियो । सञ्जालको आगामी बैठक नागार्जुन नगरपालिकाले आयोजना गर्ने भएको छ ।