२०८१ बैशाख १२ , बुधवार

काटिएको सुँडबाटै पचासौं दिनमा दाना खान सक्ने भई चञ्चलकली

सुनाखरी न्युज/ काठमाडौं । अपराधीको निशानामा परेको हात्ती चञ्चलकलीले बुधबार विहान सुँडबाटै दाना पनि खान थालेको छ। सुँड काटिएको पचासौं दिनमा उसले आफैंले दाना खान थालेकी हो।

 

गत चैत २१ गते राति चितवन, सौराहास्थित हात्तीसारमा रहेको ४५ वर्षको पोथी हात्ती चञ्चलकलीको सुँड काटिएको थियो। दुखाइले छट्पटाएको घाइते हात्तीले पाँच दिनपछि बल्ल सुँडमा पानी भरेर मुखमा पुर्‍याउने प्रयास गरेकी थिई। राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु भेटेरिनरी प्राविधिक किरण रिजालका अनुसार चञ्चलकलीले बुधबार बिहान सुँडबाटै दाना खान थालेकी हो।

‘केही दिनअघि पनि खाने प्रयास गरेकी थिई तर सकिन। सुँडले उठाउन खोज्दा च्याप्नै सक्थिन,’ रिजालले भने, ‘आज बिहानबाट खान सकी। अहिले मज्जाले खाइरहेकी छ।’ दाना खान नसक्दा माउतेहरुले हात्तीको मुखमा राखिदिने गरेका थिए। हात्तीलाई आवस्यक पर्ने घाँसको व्यवस्था खोरसोरस्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्रले गरेको छ। रिजालले लामो समयदेखिको नियमित प्रयासपछि चञ्चलकली पुरानै अवस्थामा फर्किएको बताए। अहिले उसको सुँडको घाउ लगभग निको भएको छ। अहिले पनि नियमितरुपमा सुँडमा पाउडर लगाउने गरिएको छ।

 

चञ्चलकलीका मालिक पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाले हात्तीको प्रगति देखेर खुसी भएको सुनाए। हात्तीलाई काममा नलगाएपनि बेला(बेलामा हिँडाउने, खुवाउन प्रयास गरिँदै आएको थियो। ‘अब केही दिन आराम गर्न दिएर काममा पठाउन सकिन्छ,’ वन्यजन्तु भेटेरिनरी प्राविधिक किरण रिजालले भने। चञ्चलकलीको घाउ निको पार्न हरेक दिन आठदेखि दसपटकसम्म घाउ सफा गर्ने गरिएको थियो। एकपटक सिरिञ्जबाट पेनकिलर, एन्टिबायोटिक लगायतका औषधि दिइन्थ्यो।

 

चैत २१ गते राति करिब ११ बजेतिर हात्तीको सुँड काटिएपछि माउते दीपक मर्दनियाले हात्तीपालक पर्यटन व्यवसायी दीपेन्द्र खतिवडालाई फोन गरेका थिए। स्वास्थ्यकर्मीहरू करिब १२ बजेतिर हात्तीसार पुग्दा हात्ती छटपटाइरहेको थियो। हात्तीको सुँड कसले किन काट्यो भन्ने अझै पनि थाहा हुन सकेको छैन।