२०८१ बैशाख १३ , बिहिवार

काठमाडौं उपत्यकामा ‘सम्पदा यात्रा बस’ सञ्चालनमा

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारबाट सम्पदा यात्रा बस सेवा सञ्चालनमा आएको छ । काठमाडौं उपत्यकाका सम्पदाहरुको दृश्यावलोकन गराउने उद्देश्यसहित मंगलवारबाट सम्पदा यात्रा बस सेवा ‘हप अन हप अफ बस’ सञ्चालनमा आएको हो ।

 

ललितपुरको पुलचोकमा एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सम्पदा यात्रा बस सेवाको शुभारम्भ गर्नुभयो । बस सेवा शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीले भाडा निर्धारण गर्ने काम सम्पन्न नभएका कारण एक हप्ताका लागि सेवा निःशुल्क रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले सानो काम भएपनि सरकारले ठूलो मेहनत गर्नुपरेको बताउनुभयो । मन्त्री किराँतीले सम्पदा यात्रा बस सेवा सञ्चालन गर्ने लोमा समयदेखि भनिएपनि भाडा समायोजनको काम अझै नसकिएको बताउनुभयो ।

 

उहाँले सम्पदा यात्रा बस सेवा सञ्चालन गर्नु पर्ने आवश्यकता र चेतना अगाडि गए पनि ऐन र कानून धेरै पछि रहेको बताउनुभयो । उहाँले बस भाडा समायोजन प्रदेश सरकारले गर्ने प्रावधान भएपनि सम्पदा यात्रा बस सेवा सञ्चालनको लागि भाडा निर्धारण गर्न प्रदेशसँग ऐन कानून नभएका कारण अफ्ठ्यारो परेको बताउनुभयो । मन्त्री किराँतीले मंगलबारबाट शुभारम्भ भएको सेवा नरोकि अझै बस थपेर जाने कुरामा सबैको प्रतिवद्धता रहेको पनि बताउनुभयो । उहाँले उपत्यकाको पर्यटन प्रवद्र्धनको लागि एउटा सानो प्रयास मात्रै भएको भन्दै यसको परीक्षण पश्चात सेवा विस्तार गरिनेसमेत जानकारी दिनुभयो । उहाँले सम्पदा बसमा पर्यटन मन्त्री किराँतीले पुल्चोकदेखि नारायणहिटी दरबार संग्रहालयसम्म यात्रा समेत गर्नुभयो ।

 

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले प्रदुषणमुक्त शहर बनाउने प्रयास अन्तर्गत महानगरपालिकाले अब उपरान्त कुनै पनि गाडी खरिद् गर्दा विद्युतीय मात्रै हुने घोषणा गरेको जानकारी दिनुभयो । उहाँले गाडी खरिद गर्दा विद्युतीय मात्रै हुने महानगरको घोषणा बमोजिम आफूले चढ्ने गाडी पनि विद्युतीय नै भएको बताउनुभयो । उहाँले ललितपुर महानगरको भित्रि शहरमा विद्युतीय सतल बस चलाउनेका लागि साझा यातायातलाई लागि ९ करोड रुपैयाँ दिइससेको बताउदै चाँडो भन्दा चाँडो कार्यान्वयनमा आउने विश्वास समेत व्यक्त गर्नुभयो । सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बसहरु सञ्चालन हुने भएको छ । त्यस्तै, बस सेवा तत्काका लागि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चल्ने छ । परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको बस सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुने छ ।