२०८१ बैशाख १५ , शनिवार

पैताला पोल्छ, यसरी घरमै गर्नुहोस् उपचार

 

सुनाखरी न्युज / काठमाडौं – कोही- कोहीलाई पैतला भतभत पोल्ने समस्याले सताउँछ। धेरैले यस समस्यालाई गम्भीरतापूर्वक लिँदैनन्। आफैँ निको हुन्छ भनी ठान्छन् । तर बारम्बार पैताला पोलिरहनु गम्भीर रोगको संकेत पनि हुन सक्छ । आफ्ना दैनिक क्रियाकलापमै असर गर्ने गरी पैताला पोलिरहेको छ भने त्यसलाई बेवास्ता गर्नुहुँदैन । कारण  शरीरमा भिटामिन ‘बी’, फोलिक एसिड वा क्याल्सियमको कमी हुँदा पैतला पोल्ने समस्या देखिन्छ।उच्च रक्तचाप भएकालाई पनि पैतला भतभताउने समस्या हुन्छ। रक्तचाप उच्च हुँदा रक्तसञ्चारमा समस्या हुन सक्छ। जसले गर्दा छालाका रङमा बदलाव, हातखुट्टाको तापमानमा कमी रहन्छ। यसै कारण पैतला पोल्न गर्छन्। मिर्गौलासम्बन्धी समस्या भएकाहरूका पनि पैतलामा जलन हुने गर्छ। थाइरोइड हर्मोनको लेभल कम हुँदा पनि पैतला पोल्छ। साथै, औषधिको साइडइफेक्ट हुँदा, एचआईभीको औषधि खाँदा र किमोथेरापी गर्नेहरूलाई पनि पैतलामा जलन हुन्छ।

 

यस्ता छन् घरेलु उपचार –

-पैतलामा जलन हुँदा सिरे नुन फाइदाजनक छ। एउटा भाँडोमा मनतातो पानी हालेर त्यसमा आधा कप सिरे नुन मिसाउने। १० देखि १५   मिनेटसम्म खुट्टा त्यसमा डुबाउने।

-केही समयसम्म नियमित यस्तो गरिरहँदा समस्या हट्छ।मधुमेह, उच्च रक्तचापलगायत समस्या भएकाहरूले यो उपाय अपनाउनुअघि   चिकित्सकसँग सल्लाह लिनुपर्छ।

-शाकाहारी खानेकुरा खानेले दूध, दही, पनिरलगायत दुग्ध पदार्थ नियमित खानुपर्छ। प्रोटिनयुक्त खानेकुरा खानुपर्छ। मांसाहारीहरूले अण्डा,   माछा, चिकन, सी फुडबाट भिटामिन बी प्राप्त गर्न सक्छन् ।

– लौका काटेर त्यसको गुदी पैतलामा दल्नाले पनि राहत मिल्छ ।बेसारमा पाइने एन्टी ब्याक्टेरियल तत्वले पनि यस समस्याबाट छुटकारा   दिलाउँछ ।

 

उपचार

लगातार पैताला दुखेर दैनिकीमा नै असर पारेको छ भने तुरुन्त अस्पताल गएर जँचाउनुपर्छ । नत्र जति ढिला अस्पताल पुग्यो उपचारमा त्यति नै जटिलता आउँछ । धेरै रोगको लक्षणको रुपमा पैताला पोल्ने देखिने हुँदा थाइरायड, मधुमेहको स्तर हेर्न रगत परीक्षण गरिन्छ । त्यस्तै ढाडको समस्या भए एमआरआई गरिन्छ । र, नसामा समस्या छ कि छैन भनेर हेर्न नसाको परीक्षण गरिन्छ ।

पैताला पोल्ने समस्याको लक्षण रोगअनुसार हुने भएकाले रोगलाई निदान गरी त्यसको उपचार गर्दा स्वतस् दुख्ने समस्या कम हुँदै जान्छ । यदि परीक्षणमा थाइरायड मधुमेह अनियन्त्रित देखिए त्यसलाई नियन्त्रण गरिन्छ ।