२०८१ बैशाख १५ , शनिवार

कतै ग्यास सिलिन्डर ढल्काएर वा घोप्टो पारेर बालिरहनु भएको त छैन ?

सुनाखरी न्युज/ काठमाडौं । कतै तपाइँ ग्यास सिलिन्डर ढल्काएर वा घोप्टो पारेर बालिरहनु भएको त छैन ? ग्यास बल्न छोडेपछि केही समय भए पनि सिलिन्डर ढल्काएर वा घोप्ट्याएर बाल्ने गर्नु भएको त छैन ? यदि यसो गर्ने तपाइँको बानी छ भने यस्तो गल्ती नगर्नूस् ।

 

कारण, सिलिन्डर ढल्काएर वा घोप्ट्याएर बाल्दा ठूलो विष्फोट वा दुर्घटनाको उच्च सम्भावना हुन्छ । सिलिन्डर ढल्काउँदा र घोप्ट्याउँदा पाइपबाट ग्याससँगै ‘लिक्विड’ नै आउने फायर फाइटर किशोरकुमार भट्टराई बताउँछन् । “यस्तो अवस्थामा ग्यास बल्दा वा बाल्दा ग्यास एक्कासी ठूलो बल्छ । पाइपमा आएको ग्यासमात्रै होइन सिलिन्डरभित्रको ग्यास पनि बल्न पुग्छ । यस्तो अवस्थामा आगलागी हुने र सिलिन्डर नै विष्फोट हुन्छ,” भट्टराई भन्छन्, “ग्यास सिलिन्डर घोप्ट्याउँदा पाइपबाट तरल पदार्थ निस्किन्छ । र, आगलागी सुरु हुन्छ, जसका कारण विष्फोट हुन्छ ।”

 

ग्यास सिलिन्डरमा ८५ प्रतिशत लिक्विड र १५ प्रतिशत ग्यास हुने फायरफाइटर भट्टराई बताउँछन् । १५ प्रतिशत ग्यासबाट पाइपको माध्यम हुँदै स्टोभमा गएर ग्यास बल्छ । जति ग्यास घट्दै जान्छ त्यतिनै मात्रामा लिक्विड ग्यासमा परिणत हुँदै जाने उनी बताउँछन् । तर, ढल्काउँदा र घोप्ट्याउँदमा लिक्विड नै जाने भएकाले आगलागी र विष्फोटको उच्च जोखिम हुन्छ । “ढल्काउँदा वा घोप्ट्याउँदा पाइपबाट आउने लिक्विडले रेगुलेटरलाई विगार्छ । र, रेगुलेटर बन्द गरे पनि ग्यास बलिरहने हुन्छ,” भट्टराई भन्छन् ।

 

गएको एक वर्षमा आगलागीबाट ९० भन्दा धेरैको मृत्यु भएको छ । अघिल्लो हप्ता ६९ आगलागीका घटना घटेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सिलिन्डर सधैँ ठाडो राखेर प्रयोग गर्नुपर्छ । सुताएर, घोप्टाएर वा ढल्काएर कहिल्यै प्रयोग गर्नु हुँदैन । त्यसरी प्रयोग गरे रेगुलेटर बिग्रिने र ग्यास लिक हुने सम्भावना उच्च हुन्छ । सम्भावित जोखिमबाट जोगिन ग्यास स्टोभ सिलिन्डरभन्दा सधैँ अग्लो ठाउँमा राख्नुपर्छ । सिलिन्डर ल्याउँदा र लैजाँदा कहिल्यै गुडाउन वा फाल्न नहुने प्राधिकरणले जनाएको छ ।