२०८१ बैशाख ६ , बिहिवार

नीति तथा कार्यक्रम पुनर्लेखन जरुरी छ : राप्रपा अध्यक्ष लिङ्देन

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् ।

 

अहिलेको आर्थिक संकट र समस्यालाई सम्बोधन गर्न नसक्ने भएकाले नीति तथा कार्यक्रम पुनर्लेखनको आवश्यकता रहेको लिङ्देनको भनाइ थियो । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा लिङ्देनले पुनर्लेखन हुनुपर्ने बताएका हुन् । सरकारले ल्याएको नीति तथा कार्यक्रमले समस्याको पहिचान गर्न नसकेको र प्राथमिकता पनि निर्धारण गर्न नसकेको उनको भनाइ थियो ।‘अहिले देशको अवस्था सामान्य होइन । अहिले देशले र दुनियाँले जुन आर्थिक संकट बेहोरिरहेको छ त्यसलाई हाम्रो परम्परागत कार्यशैलीले, परम्परागत सोच र संरचनाले त्यो आर्थिक संकटलाई सामना गर्न सक्दैन । त्यसकारणले यो नीति तथा कार्यक्रममा आगामी संकटलाई कसरी सामना गरेर अगाडि बढछौं भन्ने कुरा आउनु पर्दथ्यो,’ उनले भने, ‘नमिलेका विषयहरू फेरि लेखेर ल्याउनु पर्छ भन्दाखेरी अप्ठ्यारो मान्नु हुँदैन ।

 

यसलाई पुनर्लेखन गर्न जरुरी छ । अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न सक्दैन । सरकारले ल्याएको नीति तथा कार्यक्रम सामान्य अवस्थाको जस्तो रहेको लिङ्देनको भनाइ थियो । नीति तथा कार्यक्रमका धेरै कुराहरु प्रस्ट नभएको पनि उनले बताए । ‘यसले समस्या पहिचान गर्न सकेको छैन । प्राथमिकता छुट्टयाउन खोजेकै छैन । अथवा, हाम्रा प्राथमिकता के हुन ? त्यसलाई प्रस्ट पार्न सकेको छैन । छलफल गर्नुपर्ने प्रशस्त विषय छन,’ उनले भने, ‘हामीले ल्यायौं, हामीसँग बहुमत छ । पास गर्छौं । ताली ठटाएर पास गर्छौ । त्यो भन्न पाउनु हुन्छ, पास गर्न पाउनु हुन्छ ।

यसअघि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पनि नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरेका थिए । उनले नीति तथा कार्यक्रम काम नलाग्ने भन्दै पुनर्लेखन गर्नुपर्ने भन्दै त्यसो नगरिए संसद्ले फेल गर्नुपर्ने पनि धारणा राखेका थिए ।