२०८१ बैशाख ८ , शनिवार

१० महिनामा १२ खर्ब ४ अर्ब व्यापार घाटा

सुनाखरी न्युज/ काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब ४ अर्ब बढीको ब्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको बैशाखसम्म नेपालको कुल ब्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख पुगेको छ ।

 

यो १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको वस्तु आयात भएको छ । यो अवधिमा नेपालबाट १ खर्ब ३० अर्ब ९० करोड बराबरको मात्रै वस्तु निकासी भएको छ । गत आर्थिक वर्षको यहीँ अवधिको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा आयात र निर्यात दुवै घटेको छ । आव २०७८/७९ को १० महिनाको अवधिमा नेपालबाट १ खर्ब ७३ अर्ब ३४ करोड बराबरको वस्तु निर्यात हुँदा १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाखको आयात गरेको थियो ।

 

गत वर्षको १० महिनामा भएको निकासीको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा भएको निर्यात २४.४९ प्रतिशतले कम हो ।