२०८१ बैशाख ७ , शुक्रवार

१४ करोड वर्षअगाडिको डाइनासोरको जीवाश्मा भेटिएपछि खुसी भए वैज्ञानिक

सुनाखरी न्युज/ काठमाडौं। पृथ्वी उत्पत्ति भएको साढे चार अर्ब वर्ष पुग्यो । सुरुवातमा यहाँ जीवनको अस्तित्व थिएन किनभने पृथ्वी भर्खरै उत्पत्ति हुँदा यहाँको वातवरण अत्यन्तै तातो थियो ।

 

समय क्रमसँगै पृथ्वी चिसो हुन थाल्यो र यहाँ जीवनको अस्तित्व देखा पर्न थाल्यो । यो धर्तीमा पहिले–पहिले माइक्रोस्कोपिक जीवहरू अर्थात् सुक्ष्म जीवहरू अस्तित्वमा आए । त्यसपछि २५ करोड वर्षदेखि ६ करोड ६० लाख वर्ष अगाडिसम्म ठूला जीवहरू जस्तै डाइनासोरहरू अस्तित्वमा आए । डाइनासोर पनि धेरै प्रकारका थिए । कोही ठूला कोही साना त कोही मांसाहारी त कोही साकाहारी । तर, ६ करोड ६० लाख वर्ष पहिले नै डाइनासोर पृथ्वीबाट लोप हुन पुग्यो । वैज्ञानिक अनुसन्धान र प्रमाणहरूका अनुसार क्षुद्रग्रहहरू पृथ्वीमा खस्दा, ज्वालामुखी विस्फोट हुँदा डाइनासोरहरू लोप भए ।

 

तर, अहिले पनि डाइनासोरको जीवाश्महरू भेटिने गरेका छन्, जसले करोडौँ वर्ष अगाडिको ती जीवहरूको यथार्थबारे प्रकाश पार्न मद्दत गरिरहेको छ । अर्जेन्टिनाका जीवाश्मविद्हरूले हालैमात्र शाकाहारी डाइनोसरको अवशेष फेला पारेका छन् । उनीहरूले अर्जेन्टिनाको दक्षिणी प्याटागोनिया क्षेत्रमा लामो घाँटी भएको डाइनोसरको विशाल प्रजातिको अवशेष फेला पारेका हुन् । यो डाइनोसर अहिलेसम्म भेटिएको सबैभन्दा ठूलोमध्येको एक भएको बताइएको छ । प्युब्लो ब्लान्को नेचर रिजर्भमा सन् २०१८ मा फेला पारिएको यस अवशेषलाई गत बिहीबार मात्र सार्वजनिक गरिएको हो । वैज्ञानिकहरूका अनुसार यो डाइनासोर चुकारोसोरस डिरिपियन्डा प्रजातिको सदस्य हो । १४ करोडदेखि ६ करोड वर्ष अगाडिसम्म यो डाइनासोर पृथ्वीमा अस्तित्वमा थियो । यसको तौल ५० टनसम्म पुग्थ्यो भने लम्बाइ ३० मिटर लामो थियो ।

 

रियो निग्रो प्रान्तमा भेटिएकामध्ये यो सबैभन्दा ठूलो डाइनासोर हो । क्रेटिसियस अवधिमा यो डाइनोसर सिकारी जीव, माछा र समुद्री कछुवाहरूसँगै बस्ने गरेको अनुमान गरिन्छ । वैज्ञानिकहरूले निकै ठूलो हाडको अवशेष भेटेका छन्, जसलाई ब्यूनस आयर्सको प्रयोगशालामा अनुसन्धानका लागि राखिएको छ । १ दशमलव ९० मिटर ठूलो चुकारोसोरसको हड्डीलाई प्रयोगशालामा लग्दा तीन भागमा विभाजन गरिएको थियो । एक भागको तौल १०० किलोग्रामभन्दा बढी रहेको थियो र यसलाई उठाउन कम्तीमा तीन जना मानिसको आवश्यकता परेको थियो । –रोयटर्स