२०८१ बैशाख १७ , सोमवार

रावा इनर्जिको आईपीओ सर्वसाधारणका लागि जेठ १८ गतेदेखि

IPO

सुनाखरी न्युज/ काठमाडौं। रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गदैंछ । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । अब सामूहिक लगानीकोष र कर्मचारी समेत सर्वसाधारणमा आईपीओ विक्री गर्ने तयारी कम्पनीले गरेको हो ।

 

कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा र ८७ हजार ६७० कित्ता शेयर आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको हो । आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको २ लाख ८० हजार कित्ता शेयरमध्ये वितरण हुन नसकेको १ लाख ९२ हजार ३३० कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो । सर्वसाधारणमा कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर वितरण हुनेछ । यो मध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ हजार ६१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयर भने सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो ।

 

यो आईपीओ खरीदका लागि यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । छिटोमा जेठ २२ गतेसम्म आईपीओ विक्रीको अवधि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ३२ गतेसम्म विक्री लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

 

यस कम्पनीले खोटाङ्ग जिल्लामा ३ मेगावाट क्षमताको माथिल्लो रावा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०७७ साल असोज १४ गतेदेखि व्यापारिक विद्युत उत्पादन गर्दै आएको हो । उक्त आयोजनाको कुल लागत रू. ६४ करोड ६५ लाख रहेको छ भने प्रतिमेगावाट लागत रू. २१ करोड ५५ लाख छ । यस आयोजनाको विद्युत उत्पादन अनुमति वहाल रहने अवधि २९ वर्ष ११ महिना बाँकी रहेको छ ।